खोप व्यवस्थापन



 कोरोना भाइरसको संक्रमणका कारण धनीभन्दा गरिब मुलुकका नागरिक बढी प्रभावित भएकाले बेलायत लगायतका मुलुकले धनी देशले खोप नथुपारी गरिब देशलाई सहयोग गर्न आह्वान गरेका छन् । तर, यस प्रकारको आह्वानले परिणाम देखाउन सकेको छैन । नेपालजस्ता सयभन्दा बढी गरिब मुलुकहरू खोपका लागि काकाकुलको जीवन बाँचिरहेका छन् । राजनीतिक अस्थिरता र शासक वर्गको सत्ताप्रतिको प्राथमिकताका कारण गरिब देशका नागरिकको जीवन संकटग्रस्त बनिरहेको छ ।

नेपालमा सर्वोच्च अदालतले ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा यथाशीघ्र दिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले गत फागुनमा कोभिशिल्डको पहिलो मात्रा खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन ढिला भएको भन्दै सो आदेश जारी गरेको हो । विश्व स्वास्थ्य संगठनले कोभिशिल्ड खोप पहिलो मात्रा लगाएको आठदेखि १२ हप्तासम्म दोस्रो मात्रा लगाउन सकिने बताएको छ । तर, पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकले १२ हप्ता नाघिसक्दा पनि दोस्रो मात्रा लगाउन पाएका छैनन् । विश्वका धनी मुलुक अमेरिका, युरोप लगायतले आफ्ना देशका नागरिकलाई कोरोना संक्रमणबाट जोगाउन खोपको आविष्कार गर्नेदेखि खोप लगाउन आफ्ना नागरिकलाई जनचेतना फैलाउनुका साथै सेवा सुविधामा समेत विशेष प्राथमिकता राखेकै कारण नागरिक सुरक्षित भएका छन् ।

नेपालमा खोप खरिद तथा कोभ्याक्सअन्तर्गत दिने भनिएको सहयोगस्वरूपको खोप पनि समयमा नआउँदा पहिलो मात्रा खोप लगाई दोस्रो मात्राको प्रतीक्षामा रहेका ज्येष्ठ नागरिक लगायत बैङ्कर्स, कर्मचारी, शिक्षक लगायतको समूह दोस्रो खोप लगाउनबाटै वञ्चित भएको छ । हाल नेपालमा कोभिशिल्ड खोप झण्डै ४० हजारको हाराहारीमा रहे पनि कसलाई र कसरी दिने भन्ने अन्योलका कारण खोपको म्याद गुज्रने अवस्थामा छ । बल्ल सरकारले बुधबारदेखि ७७ वर्षमाथिका नागरिकलाई खोप लगाउने विषयमा तालिका तयार पारेको बुझिएको छ । खोप स्थानीय सरकारमार्फत देशभरि छरिएर थोरै–थोरै मात्रा रहेको छ । यतिबेला सरकारद्वारा गठित कोभिड– १९ खोपसम्बन्धी सल्लाहकार समितिका संयोजकले कोभ्याक्स अभियानले नेपाललाई तीन लाख ४८ हजार अक्सफोर्ड–अस्ट्राजेनेकाको खोप र छ लाख जोनसन एन्ड जोनसनको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनु खुशीको कुरा हो । दुई मात्रा लिनुपर्ने अक्सफोर्ड–अस्ट्राजेनेकाको खोप आगामी जुलाइ महिनाभित्र उपलब्ध गराइने व्यहोराको पत्र प्राप्त भएको बताइएको छ । अमेरिकामा जोनसन एन्ड जोनसन कम्पनीले विकास गरेको जेनसेन खोपको एउटै मात्रा लगाउन सिफारिस गरिएको छ । यसबाहेक नेपालले चीनबाट पनि ५० लाख डोज खोप खरिद गर्ने प्रक्रिया अघिबढेको जनाएको छ ।

खोप नहुनु चिन्ताको विषय त हो नै भएको खोप पनि लगाउने व्यवस्था मिलाउन नसक्नु अर्को बिडम्बना हो । एक क्षेत्रमा खोप संकलन गरी उक्त क्षेत्रका प्राथमिकीकरणमा परेका नागरिकलाई लगाई खोपको सही सदुपयोग गरिनु आवश्यक देखिन्छ । खोप खरिद प्रक्रियालाई छिटोभन्दा छिटो टुंगो लगाई कानुनी र व्यावहारिक अड्चनलाई सहज बनाउँदै आम नागरिकको स्वस्थ भएर बाँच्न पाउने अधिकारको रक्षा गर्न सरकारले तदारूकता देखाउनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्