गीत/संगीत र कलामा छैन बजेट

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्ब ७२ करोडको बजेट बिनियोजन गर्दा गीत/संगीत तथा कलाको क्षेत्रमा भने बजेट विनियोजन हुन सकेन । गीत/संगीत र कलाक्षेत्रमा अन्य प्रदेशको तुलनामा सबभन्दा बढी कलाकार, फिल्म इण्डष्ट्रिज तथा गीत/संगीत उत्पादनको मुल स्थान बागमती प्रदेशमा नै पर्छ । कोरोना संक्रमणका रोकथाम तथा न्यूनीकरणका लागि गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण कलाक्षेत्र पनि निकै मारमा परेको छ ।
‘राष्ट्रका गहना’ मानिने कला र गला क्षेत्रलाई बागमती प्रदेशको बजेटले अलिकति पनि छुन सकेन । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारको आगामी आवको बजेट प्रस्तुत गर्दा कलाक्षेत्रले स्थान पाउनै सकेन । १ सय ८५ वटा बुँदाको बजेट सार्वजनिक हुँदा कलाकारिता क्षेत्रलाई समेट्न नसक्नु चिन्ताको विषय बनेको छ । भीम विराग कला प्रतिष्ठान मकवानपुर अध्यक्ष ह्यगीव आचार्यले बजेट भाषण कलाकारितामैत्री नभएकोमा चिन्ता लागेको बताए ।

‘कला र गलाले देशलाई चिनाउँदै आएका गीत/संगीत क्षेत्रमा निरन्तर देशको नाम उच्च राख्दै जीवन व्यतित गरिरहेका कलाकारको प्रदेश सरकारले सम्मान गर्न सकेन । उनले भने–बजेट विनियोजन गर्ने ठूला व्यक्तिहरु रहेकाले होला कला र गला नबुझेपछि कला क्षेत्रमा बजेट छुट्याउने सोच नआएको होला ।

उनले भने–प्रदेश सरकारले यस्ता कला प्रतिष्ठान र कलाकारबारे पनि सोचेको होला भन्ने लागेको थियो । तर, बजेटका कुनै बुँदामा पनि कलाक्षेत्र समेटिएन । योजत्तिको नरमाइलो विषय हाम्रा लागि हुनै सक्दैन ।प्रदेशमा गीत/संगीत र कला क्षेत्रका व्यक्तिलाई आव २०७८/०७९ को बजेटले निराशा थपिदिएको छ । सरकारले कलाकारिताको पहिचान तथा सम्मान गर्न नसकेकोप्रति कलाक्षेत्रमा लागेकाहरुले गुनासो गरेका छन् ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेल यस्ता प्रतिष्ठानले प्रदेश सरकारस“ग माग लिएर नआएका कारण यस वर्षको बजेटमा कलाकारिता क्षेत्रलाई समेट्न नसकिएको बताए । मन्त्री ढुंगेलले भने–छुटेको हुनसक्छ । यस्ता विषयमा प्रतिष्ठानहरुले हामीलाई जानकारी दिए केही बजेट छुट्याउन सकिन्छ कि भन्ने हो ।