पोर्चुगल र फ्रान्स विजयी


लन्डन, (एजेन्सी) ।

युरो कप फुटबल–२०२० मा डिफेन्डिङ च्याम्पियन पोर्चुगल र रनरअप फ्रान्स विजयी भएका छन् ।समूह चरणअन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले हंगेरीलाई तथा फ्रान्सले जर्मनीलाई पराजित गरेको हो । पोर्चुगलले समूह चरणको आफ्नो पहिलो खेलमा हंगेरीलाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले हराउँदै प्रभावशाली जितका साथ प्रतियोगितामा शानदार विजयी सुरूवात गरेको हो । निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा पोर्चुगलले खेलको अन्तिम नौ मिनेटभित्र तीन गोल गर्दै महत्वपूर्ण जित हात पार्न सफल भयो ।
हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिना रंगशालामा ६० हजार दर्शक माझ भएको रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर, खेलमा पोर्चुगलले अन्तिम समयमा लगालग तीन गोल गरेर जितको खुसीयाली मनायो । दर्शकले भरिभराउ रंगशालामा घरेलु टोलीले निकै उच्चस्तरको प्रदर्शन गरेर ८३औं मिनेटसम्म पोर्चुगललाई रोकेको थियो । तर, त्यसपछि पाहुना टोलीले हंगेरीविरुद्ध गोलको खडेरी तोड्न सफल भयो । खेलको ८४औं मिनेटमा डिफेन्डर राफाएल गुरेरियोले पोर्चुगलका लागि गोलको खाता खोलेका थिए ।त्यसपछि, पाहुना टोलीले पाँच मिनेटभित्र अर्को दुई गोल थप्यो । खेलको ८७औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत् गोल गर्दै खेल २–० बनाए । उनको गोलपछि पोर्चुगलको जित पक्का भएको थियो । तर, पोर्चुगल त्यत्तिमै अडिएन । ९२औं मिनेटमा रोनाल्डोले डीबक्सभित्र हंगेरीका दुई जना डिफेन्डर र गोलकिपरलाई छक्याउँदै सहजै गोल गरेपछि खेल पोर्चुगलले ३–० ले जित्यो । सो गोलमा सब्स्टिच्युट युवा खेलाडी राफा सिल्भाले असिस्ट गरेका थिए । रोनाल्डोका लागि उक्त गोल कीर्तिमानीसमेत बनेको छ । उनी अब युरो कप प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यसअघि, सो रेकर्ड फ्रान्सका मिचेल प्लाटिनीका नाममा थियो । प्रतियोगिताको सबैभन्दा कठिन मानिएको यस समूहमा पहिलो खेलमा जितका साथ पोर्चुगलले तीन अंक जोड्दै शीर्ष स्थान ओगटेको छ ।

जर्मनी पराजित

यसै समूहको अर्को खेलमा फ्रान्सले पनि जर्मनीलाई १–० ले हराउँदै तीन अंक बटुल्यो । फ्रान्सले संघर्षपूर्ण अवस्थाबाट विजयी शुरूवात गरेको हो । ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’ को यो दोस्रो खेल थियो । बिहीबार बिहान जर्मन क्लब बार्यन म्युनिखको एलियान्ज रंगशालामा जर्मनीले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि फ्रान्सले उपहार गोलको मद्दतमा १–० को साँघुरो जित निकाल्न सफल भएको हो । त्यसबाहेक फ्रान्सका दुई गोल भिएआरले रद्द गरिदिएको थियो । क्लियन एमबाप्पे र करिम बेन्जेमाले गरेका एक–एक गोलले भने मान्यता पाउन सकेनन् । दुवै गोल रेफ्रीले भिएआरमार्फत् जाँच गरेर रद्द घोषणा गरिदिएका थिए ।

खेलको २०औं मिनेटमा जर्मन डिफेन्डर म्याट्स ह्युमेल्सले आफ्नै पोस्टमा गोल गरेपछि घरेलु टोलीलाई ठूलो झट्का लाग्यो । डीबक्समा आफैंले गरेको एक गल्ती जर्मनीका लागि अन्ततः हारको कारण बन्यो । फ्रान्सका डिफेन्डर लुकास हर्नान्डेजले पोस्टको माथिल्लो कुनाबाट दिएको क्रस बललाई ह्युमेल्सले पोस्टको अघिबाट क्लियर गर्न खोज्दा सोझै आफ्नै पोस्टमा गोल हुन पुगेको थियो । उनले बललाई क्लियर गर्न सही दिशा दिन नसक्दा खुट्टामा लागेर सोझै आफ्नै पोस्टमा छिरेको थियो ।

आफ्ना पछि फ्रान्सका क्लियन एमबाप्पेको दबाब रहेकाले उनले हतारमा बललाई राम्रोसँग क्लियर गर्न पाएनन् । आफ्नै पोस्टमा गोल गरेपछि जर्मनीले त्यसपछि बाँकी समयभरि खेलमा कमब्याक गर्न सकेन । यता, फ्रान्सले गरेका दुई गोल भने रद्द गरिएको थियो । खेलको अन्तिम समयमा क्लियन एमबाप्पेको पासमा बेन्जेमाले गरेको गोल रद्द भएको थियो । त्यसअघि एमबाप्पेकै गोल पनि रद्द भएको थियो । यो जितपछि फ्रान्स समूह ‘एफ’ मा तीन अंकका साथ दोस्रो स्थानमा रहेको छ । आफ्नो खेलमा हंगेरीलाई ३–० ले हराएको पोर्चुगल शीर्ष स्थानमा छ । फ्रान्ससँग पराजित जर्मनी तेस्रो स्थानमा रहँदा पोर्चुगलसँग पराजित हंगेरी चौथो स्थानमा रहेको छ ।