बनेपा नगरपालिकालाई सिगात्सेको सहयोग

2.9k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

बनेपा नगरपालिकालाई कोेभिड १९ को महामारीमा नागरिकहरुलाई सुरक्षित बनाउन छिमेकी देश चीनको सिगात्से नगरपालिकाले स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । जिल्लाको सबै भन्दा धेरै सक्रमित भएको नगरपालिका बनेपा हो । तिब्बत स्थित सिगात्से नगरपालिकाले बनेपा नगरपालिकालाई स्वास्थ्य उपकरणहरू उपलब्ध गराएको नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले वताउनु भयो ।

सन १९९९ अक्टोबरमा बनेपा नगरपालिका र चीनको सिगात्से नगरपालिका बीच भगिनी सम्बन्ध स्थापना भएको थियो । नेपालमा तीव्र गतिमा कोरोना संक्रमण बढेसँगै बनेपा नगरपालिकामा भएको संक्रमण दर र त्यसको प्रभावका बारेमा सिगात्से नगरपालिकालाई बनेपा नगरपालिकाले सहयोगका लागि पत्राचार गरेको थियो । संक्रमण दर तीव्र रुपमा बढिरहेको र संक्रमितहरुको उपचारमा अक्सिजन, भेन्टिलेटर, अक्सिजन सिलिन्डर जस्ता स्वास्थ्य सामाग्री अभाव भएकाले व्यवस्था गर्न सकिए कोरोना रोकथाम र नियन्त्रण गर्न मद्दत पुग्ने अवगत गराएको प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले जानकारी गराए ।

सिगात्से नगरपालिकाले इसिजी मनिटर १२ थान, अक्सिजन कन्सन्ट्रेटर १२ थान, पिपिई ५ सय थान, मेडिकल ग्लोब्स १० हजार थान, डिस्पोजेबल मेडिकल क्याप १० हजार थान, एन ९५ मास्क ६ हजार ५ सय थान, मेडिकल शु कभर ५ सय थान, नेबुलाइजर १० थान, डिस्पोजेबल मेडिकल मास्क २० हजार थान, ह्याण्ड फ्रि डिस्इन्फेक्टेड ५ सय थान, पल्र्स अक्सिमिटर ५० थान, मेडिकल बुट कभर १ सय थान सामाग्री उपलब्ध गराएको छ ।

उक्त सहयोग चिनियाँ युयान २ लाख ९७ हजार २ सय ५० अर्थात नेपाली रुपैयाँ ५४ लाख रहेको बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले वताउनु भयो । तातोपानी नाका मार्फत पठाइएका सामाग्रीहरु नगरपालिकामा आईपुगेको छ । तातोपानी नाकामा नगरपालिकाका तर्फबाट वडा नम्वर ५ का अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ७ का अध्यक्ष वर्ण शाक्य, बरिष्ठ राजश्व अधिकृत धुर्वराज नेपाल, प्रशासन प्रमुख जुजुभाई शुद्धाकारले सामाग्री बुझनु भएको थियो ।

दुई नगर बीचको आपसी मित्रता र सम्बन्ध अझ प्रगाढ हुने विश्वास बनेपा नगरपालिकाले व्यक्त गरेको छ । बनेपा नगरपालिकाले हाल पोलिटेक्निक विद्यालयको भवनमा कोभिड १९ का बिरामीको लागि ५० शैयाको अक्सिजन सहितको आईशोलेसन सञ्चालन गर्दै आइरहेको छ । जसमा अझै पनि १६ जना विरामी उपचारार्थ छन् । बनेपाले जिल्लामै पहिलो पटक कोभिड डेडिकेटेड अस्पताल संचालनमा ल्याएको थियो ।