डोटीमा लक्ष्मीलाई जिउँदै जलाएर मार्न खोज्ने श्रीमान पक्राउ

4.9k
Shares

विमल विष्ट, डोटी ।

डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जलायर जिउँदै मार्न खोज्ने श्रीमान सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाएर मार्न खोज्ने श्रीमान भाटलाई कञ्चनपुुरको त्रिनगर भन्सार नाकाबाट सोमबार राती पक्राउ गरिएको हो । पक्राउ परेका भाटलाई आज मंगलबार जिल्ला अदालत डोटीबाट ६ दिनको हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

लक्ष्मीका श्रीमान भाटले गएको जेठ १२ गते बुधबार राति आफ्नै घरमा सुतिरहेको बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा उनी सहित नावालक छोरी जलेर गम्भीर घाइते भएकी थिइन् । छोरी र श्रीमती घाइते भएलगत्तै श्रीमान भाट फरार रहेका थिए । फरार भएका भाटलाई कैलाली तथा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएका प्रहरी टोलीले कञ्चनपुरको त्रिनर भन्सारबाट पक्राउ गरी आज मंगलबार बिहान डोटी पु¥याएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी दानबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमती र छोरीलाई जलायर फरार भएदेखि हामीले सन्तोषको खोजी कार्यलाई तिब्र बनाएका थियौँ, बल्ल पक्राउ गर्न सफल भयौँ, अब कानुन बमोजिम कारवाहि हुने छ ।”

श्रीमती र छोरीलाई जिउदै जलायर फरार रहेका भाटलाई प्रहरीको टोलीले १९ दिनपछि बल्ल भारतबाट फर्किदै गरेका अवस्थामा त्रिनगर भन्सारबाट पक्राउ गरेको बताइएको छ । फरार रहेका भाटले प्रयोग गर्ने टेलीफोनको कल डिटेलका आधार र मोवाइल ट्रयाकिङ्बाट उनलाई पक्राउ गर्न सहज भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रबक्ता तथा प्रहरी उपरीक्षक योगेन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “फरार रहेर निज भाट कैलाली र कञ्चनपुर जिल्लाका केही ठाउँहरुमा बस्ने र घुम्ने गरेको कल डिटेलमा देखिएको थियो, फेरी केही दिन उनी सम्पर्क बिहिन भए, सायद त्यो समय उनी भारत पसेका हुन सक्छन्, फेरी दुइ तीन दिन यता कल ट्रयाकिङ्मा देखाएपछि पक्राउ गर्न सफल भएका हौँ ।”

फरार रहेको समयमा उनले प्रयोग गर्दै आएको मोवाइल फोनको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी टोली, कैलाली प्रहरी टोली तथा डोटी जिल्लाबाट खटिएका प्रहरी निरीक्षक कान्तिराज जोशी नेतृत्वको टिमले उनी बसेको र घुमेको ठाउँ पत्ता लगाउदै पक्राउ गर्न सफल भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आगोले जलेर गम्भीर घाइते भएकी लक्ष्मीको निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा गएको जेठ १७ गते हेलिकप्टरमा काठमाडौ ल्याइ कृर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचार भइरहेको छ । लक्ष्मीको स्वास्थ्य अवस्था निकै सुधार हुँदै गएको उपचारमा सम्लग्न अस्पतालका डा द्धय सुरेन्द्र बस्नेत तथा प्रकृति ज्ञवालीले जानकारी दिनुभयो । मन्त्रालयले जेठ १७ गते एक विज्ञप्ति जारी गरी आगोले जलेर घाइते भएका लक्ष्मीका आमा–छोरीको उपचार नेपाल सरकारले बेहोर्ने यस अघि नै जनाइ सकेको छ । आगलागिबाट निज महिलाको कम्तिमा पनि ६० प्रतिशत शरीरको भाग आगोले जलेको थियो । श्रीमतीलाई जिउँदै जलायर मार्न खोज्ने श्रीमान सन्तोषलाई हदै सम्मको कारनुनी कारवाहिका लागि यहाँका महिला अधिकारीकर्मीहरुले माग गरेका छन् ।