युरो कपमा बेल्जियमको शानदार शुरूवात


मस्को, (एजेन्सी) । 

युरो कप २०२० का उपाधि दावेदारमध्येको एक बेल्जियमले शानदार शुरूवात गरेको छ ।शनिबार राति रसियामा भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा बेल्जियमले खेलमा घरेलु टोलीलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । बेल्जियमको जितमा स्टार फरवार्ड रोमेलु लुकाकु नायक बने ।

उनले टिमका लागि पहिलो खेलमै दुई गोलको योगदान गरे । बेल्जियमका मुख्य खेलाडीमध्ये केभिन डे ब्रुयेने घाइते अवस्थामा रहेको तथा कप्तान इडेन हाजार्डलाई पनि बेन्चमा राखेर उत्रिएको बेल्जियमका लागि लुकाकुले दुई गोल गरेका हुन् । उनले खेलको १०औं मिनेटमै पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । लुकाकुले उक्त गोल शनिबारै भएको अर्को खेलमा मैदानमै ढलेर स्वास्थ्य समस्यासँग जुधिरहेका डेनमार्कका खेलाडी क्रिस्टिएन एरिक्सनप्रति समर्पित गरेका थिए ।त्यसपछि, बेल्जियमका लागि दोस्रो गोल खेलको ३४औं मिनेटमा डिफेन्डर थोमस मुनिएरले गरे । रिबाउन्ड बलमा उनले पोस्टका सामुन्नेबाट लो सटमा बललाई जाली चुमाएपछि पहिलो हाफमा बेल्जियमले २–० को अग्रता बनाएको थियो । पहिलो हाफमा दुई गोल गरेको बेल्जियमका लागि दोस्रो हाफमा लुकाकुले व्यक्तिगत दोस्रो गोल थपे । उनको गोलमा दोस्रो गोलकर्ता डिफेन्डर मुनिएरले असिस्ट प्रदान गरेका थिए । लुकाकुको गोलपछि बेल्जियमले खेल ३–० ले जित्न सफल भयो । यससँगै समूह ‘बी’ मा पहिलो चरणका दुवै खेल सकिएका छन् ।

त्यसअघि, शनिबारै भएको पहिलो खेलमा फिनल्यान्डले डेनमार्कलाई उसैको घरेलु मैदानमा १–० ले हरायो । आफ्ना प्रमुख खेलाडी क्रिस्टिएन एरिक्सन अचानक मैदानमै ढलेपछि केहीबेर रोकिएर पीडादायी स्थितिमा सम्पन्न भएको खेलमा घरेलु टोली डेनमार्कले हार पन्छाउन सकेन । गोल बेहोरेर पछि परेका बेला डेनमार्कले पेनाल्टीमा गोल गर्न नसक्दा हार भोग्नु परेको हो । खेल बराबरी गरेर प्रतियोगिताको पहिलो खेलमा हार पन्छाउने अवसर खेर फाल्दा घरेलु टोलीलाई सहकर्मीको स्वास्थ्य अवस्थाले पीडा भइरहेका बेला अर्को पीडा थपिदियो ।खेलको ४३औं मिनेटमा एरिक्सन अचानक मैदानमा ढलेपछि खेल ४५ मिनेटसम्म स्थगित भएको थियो । एरिक्सन मैदानमा ढलेपछि सहकर्मी, रंगशालामा उपस्थित दर्शक सबै स्तब्ध बनेका थिए । मेडिकल टिमले उनलाई तत्कालै मैदानमै प्रारम्भिक उपचार गरेर स्ट्रेचरमा राखी बाहिर निकालेका थिए । एरिक्सनको स्वास्थ्य समस्याका कारण रोकिएको खेल पुनः शुरू भएपछि पाहुना टोली फिनल्यान्डले खेलको ५९औं मिनेमा पहिलो गोल गरेर खेलमा अग्रता लिएको थियो । सो गोल जोएलले गरेका थिए । गोल खाएपछि दबाबमा परेको डेनमार्कले खेलको ७४औं मिनेटमा पेनाल्टी पाएको थियो । तर, डेनिस खेलाडी पियरे इमिलेको प्रहार फिनल्यान्डका गोलकिपर रोकेर घरेलु टोलीलाई खेलमा फर्किनबाट रोकिदिएका थिए ।

त्यसपछि, बाँकी समयमा दुवै तर्फबाट गोल नभएपछि त्यही एक गोलको अग्रता बचाएर फिनल्यान्डले खेल १–० ले जित्यो । मैदानमै ढलेका एरिक्सनको अस्पतालमा उपचार चलिरहेको छ । डाक्टरले उनी खतरामुक्त रहेको जनाएका छन् । शनिबारको नतिजापछि रसियालाई हराएको बेल्जियम पहिलो खेलमा शानदार जितका साथ तीन अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ । फिनल्यान्ड तीन अंकसहित दोस्रोमा छ ।शनिबार राति नै भएको समूह ए को अर्को खेलमा स्वीट्जरल्यान्ड र वेल्सले १–१ को बराबरी खेल्दै युरो यात्रा शुरू गरेका छन् । सन् २०१६ को युरो कपको सेमिफाइनालिस्ट वेल्सले एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै १–१ गोलको बराबरी खेलेको हो । अजरबैजानको बाकु सहरस्थित बाकु ओलम्पिक रंगशालामा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । स्वीट्जरल्यान्डले खेलमा पहिला अग्रता लिएको थियो ।

स्वीट्जरल्यान्डका लागि खेलको ४९औं मिनेटमा ब्रील इम्बोेलोले गोल गरेका थिए । उनले जोर्डन शाकिरीको पासमा हेडिङमार्फत् गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । गोल गरेर अग्रता बनाएपछि वेल्समाथि हावी भएको स्वीट्जरल्यान्डले त्यसपछि पनि खेलमा दबाब बनायो । तर, वेल्स खेलको ७४औं मिनेटमा खेलमा फर्कियो । किफर मोरेले पनि हेडिङमार्फत् गोल गर्दै खेल १–१ बनाए । वेल्सले बराबरी गोल फर्काएपछि बाँकी समयमा दुवै तर्फबाट थप गोल नभएपछि खेल १–१ बराबरीमा सकियो । समूह ‘ए’ मा अब सबै टिमले पहिलो खेल खेलीसक्दा इटाली शीर्ष स्थानमा छ । यस समूहको शुक्रबार राति भएको प्रतियोगिताको पहिलो खेलमा टर्कीलाई ३–० ले हराएको इटाली शीर्ष स्थानमा रहेको हो । पराजित टर्की भने समूहको अन्तिम स्थानमा छ ।