टनेलमा व्यावसायिक तरकारी खेती



प्रताप बानियाँ, म्याग्दी ।

वैदेशिक रोजगारीबाट फर्किएका युुवाको समूह व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । आफ्नै गाउँ ठाउँमा स्वरोजगार बन्ने उद्देश्यका साथ बाँझै र खेर गएको जग्गा जमिने उपयोग गरी कृषि उत्पादन गर्नेतर्फ उनीहरू लागेका हुन् ।पछिल्ला दिनमा म्याग्दीका युवा व्यावसायिक रुपमा कृषि, पशु पालन र कुखुरा पालन व्यवसायतर्फ आबद्ध बनेका छन् ।

सानो लगानी र थोरै मेहनतमा पनि आम्दानी गर्न सकिने तथा बजारको सहज पहुँच, कृषि उपकरणको उपलब्धता, सिचाइँ एवम् यातायातको सुविधाका कारणले गर्दा युवा कृषकको व्यावसायिक कृषि खेतीतर्फ आकर्षण बढ्दै जान थालेका हुन् । जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय र संघसंस्थाको सहयोग एवं आफ्नै लगानीमा युवा कृषकले कृषि, पशुपालन र पन्छी पालनलाई जोड दिएका छन् । यसैक्रममा जिल्लाको बेनी नगरपालिका–५, पुलाचौरका युवा भरत भण्डारीले टनेल निर्माण गरी त्यसभित्र गोलभेंडा र खुर्सानी लगाउने तयारी गर्नुभएको छ । भण्डारी अर्गानिक फार्म एन्ड रिसर्च सेन्टर स्थापना गरी टनेलभित्र ९प्लास्टिक घर०मा गोलभेंडा र खुर्सानी लगाउने आफ्नो योजना रहेको उहाँले जानकारी दिनुभयो ।

व्यावसायिक तरकारी खेती गर्नका लागि चालू आर्थिक वर्ष २०७७-७८ मा कृषि ज्ञाने केन्द्र म्याग्दीको एकलाख ५० हजार सहयोग गरेकोमा त्यसमा आफूले थप एकलाख ५० हजार रुपियाँ थप गरी तीन लाख रुपियाँको लागतमा २ वटा टनेल निर्माण गरेको युवा कृषक भण्डारीले बताउनुभयो । पुलाचौरको दहमा रहेको उहाँको खेतमा ठूलो टनेल २३ मिटर लम्बाई र ६ मिटर चाडाइको छ । यसैगरी अर्को सानो टनेल १३ मिटर लम्बाई र ६ मिटर चौडाइको छ । उहाँले ठूलो टनेलभित्र हाईब्रिड जातको गोलभेंडा र सानोमा प्याप्सीगन जातको खुर्सानी लगाउने तयारी गरिरहेको जानकारी दिनुभयो । युवा कृषक भण्डारीले ती दुईवटा टनेलमा विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने योजना रहेको सुनाउनुभयो । करिब एक रोपनीको जग्गामा टनेल निर्माण गर्नुभएका उहाँले त्यस आसपासको जग्गामा फलफूल र डालेघाँसको बिरुवासमेत लगाउने बताउनुभएको छ । सडकको समेत पहुँच पुगेकाले टनेलमा उत्पादित तरकारीले सजिलै बजार पाउने उहाँको भनाइ छ । कृषक भण्डारीले आगामी दिनमा टनेलको क्षमता विस्तार गरी थप जग्गामा व्यावसायिक तरकारी र कृषि खेतीको विस्तार गर्ने लक्ष्य राख्नुभएको छ ।

त्यस्तै बेनपा–५, चिप्लेटीका युवा कृषक जीवन कुँवरले पनि २५ मिटर लामो टनेलभित्र गोलभेंडा लगाउनुभएको छ । घरमा त्यत्तिकै बस्नुभन्दा टनेल बनाएर तरकारी लगाउँदा घरमा खानलाई पनि हुने र उत्पादन राम्रो भएमा बिक्री गर्ने उद्देश्यले टनेलमा गोलभेंडा लगाएको उहाँले बताउनुभयो । उहाँको टनेलमा उत्पादित गोलभेंडा चिप्लेटी गाउँका साथै पुलाचौर तथा भीरमुनीमा समेत बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्