अमेरिका कन्काकाफ नेसन्स लिग च्याम्पियन


लन्डन, (एजेन्सी)

अमेरिका कन्काकाफ नेसन्स लिग च्याम्पियन बनेको छ ।तनावपूर्ण खेलमा मेक्सिकोलाई हराउँदै संयुक्त राज्य अमेरिकाले कन्काकाफ नेसन्स लिग फुटबलको उपाधि जितेको हो । सोमबार बिहान भएको उपाधि भिडन्तमा अमेरिकाले यस प्रतियोगिताको पहिलो संस्करणको उपाधि नै जित्न सफल भएको हो । प्रतियोगिताको पहिलो संस्करणको आयोजक अमेरिकाले आफ्नै भूमिमा भएको प्रतियोगिताको फाइनल पुग्दै उपाधिसमेत जित्न सफल भयो । आफ्नो भूमिमा भएको फाइनल खेलमा अमेरिकाले मेक्सिकोलाई ३–२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

निकै तनावपूर्ण खेल अतिरिक्त समयसम्म लम्बिएको थियो । निर्धारित ९० मिनेटमा हार–जित नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । दुई टोलीका खेलाडीबीच झडप हुँदा अमेरिकाका घरेलु समर्थकले पाहुना टोली मेक्सिकोका खेलाडीमाथि पानीका बोतल र अन्य वस्तुले समेत मैदानमै आक्रमण गरेका थिए । रोमाञ्चक खेलको इन्ज्युरी समयमा दुई पेनाल्टी हुँदा मेक्सिको पेनाल्टीमा चुकेपछि अमेरिका उपाधि च्याम्पियन बन्यो ।पाहुना टोली मेक्सिकोले खेलको पहिलो मिनेटमै गोल गरेर अमेरिकालाई झट्का दिएको थियो । सो गोल जेसुस म्यानुएल कोरोनाले गरेका थिए । त्यसपछि, २७औं मिनेटमा अमेरिकाका युवा खेलाडी जिओभानी रेइनाले गोल गर्दै खेल १–१ को बराबरी बनाए । त्यसपछि, मेक्सिकोले खेलको ७९औं मिनेटमा फेरि अग्रता लियो । सो गोल डिएगो लाइनेजले गरेका थिए । उनको गोलपछि मेक्सिकोले २–१ को अग्रता बनाएर

जिततर्फ अघि बढेको थियो । तर, ८२औं मिनेटमा इटालियन युभेन्ट्सबाट खेल्ने युवा स्टार वेस्टन म्याकेनीले गोल गर्दै अमेरिकालाई खेलमा फर्काए ।त्यसपछि, ९० मिनेटमा खेल २–२ को बराबरी भएपछि खेल ३० मिनेटको थप समयमा गयो । जहाँ पटक–पटक खेलाडी घाइते भएपछि मैदानमै उपचार, दुई टोलीबीच पटक–पटक झडप भएपछि ३० मिनेटको थप समयमा पनि १० मिनेट इन्ज्युरी समयसम्म खेल चलेको थियो । अतिरिक्त समयमा खेलको १ सय १४औं मिनेटमा अमेरिकाले पेनाल्टी पायो । अमेरिकाका कप्तान क्रिस्टिएन पुलिसिचलाई डीबक्समा मेक्सिकन डिफेन्डरले च्यापेर लडाएपछि रेफ्रीले तीन मिनेटसम्म भिएआर जाँच गरेर अमेरिकालाई पेनाल्टीको मौका दिएका थिए । जसमा पुलिसिच आफैंले पेनाल्टी हान्दै टिमलाई ३–२ को अग्रता दिलाए ।त्यसपछि १ सय २० मिनेटपछि थप समयको चौथो मिनेटमा मेक्सिकोले पेनाल्टी पायो । तर, टिम हार नजिक पुगेका बेला पाएको पेनाल्टीमा मेक्सिन मिडफिल्डर आन्द्रेज गाउरडाडो पेनाल्टीमा चुके ।

उनको पेनाल्टी अमेरिकन युवा गोलकिपरले लडेर एकै हातले शानदार ढंगले रोकेपछि मेक्सिको खेलमा फर्किन पाएन । त्यसपछि खेल लगातार तनावपूर्ण बन्यो । मेक्सिकन खेलाडीले हार नजिक पुगेपछि धैर्यता गुमाउँदा दुई पक्षबीच झडप भइरह्यो । खेल १ सय ३० मिनेटसम्म चल्दा पनि मेक्सिकोले गोल फर्काउन सकेन र अमेरिकाले ३–२ को नतिजाका साथ उपाधि जित्न सफल भयो ।नेसन्स लिग तीन महादेशका देशले खेल्ने गरी सन् २०१८ मा स्थापना गरिएको प्रतियोगिता हो । यसमा उत्तरी अमेरिका, मध्य अमेरिका र क्यारेबियन क्षेत्रका देशले सहभागिता जनाउँछन् । यस प्रतियोगितामा विभिन्न ४१ देशले प्रतिस्पर्धा गर्छन् ।