युरोकप २०२१ को नालीबेली


कविरस शर्मा, काठमाडौं । 

विश्वव्यापीरूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) का कारण संसारले अहिले समाजिक, आर्थिक, मानवीय संकटको सामना गरिरहेको छ । कोरानाको विभिन्न लहर र नयाँ भेरियन्टका कारण विश्व नै आक्रान्त बनिसकेको छ । नेपाल लगायत संसारका थुप्रै देशमा संक्रमितहरूको संख्या घटबढ हुने क्रम चलि नै रेहेको छ । कोरोनाकै कारण गत वर्ष तय भएका थुप्रै प्रतिष्ठित खेल प्रतियोगिता स्थगित र रद्द भएका थिए । जसका कारण एक वर्ष धकेलिएको टोकियो ओलम्पिक, कोपा अमेरिका, युरोकप जस्ता प्रतिष्ठित प्रतियोगिताहरू यो वर्ष हुने तरखरमा छन् ।

गत वर्षको जुन १२ देखि जुलाइ १२ सम्म आयोजना हुनुपर्ने युरोकप कोरोना महामारीका कारण एक वर्ष पछाडि सारिएको हो । एक वर्ष सारिएका प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका र युरोकपको आयोजना भने अहिले एउटै महिनामा हुँदैछ । जसले गर्दा यो वर्षको जुन र जुलाइ फुटबलमय बन्ने पक्का छ । नेपाली समयनुसार युरोकप मध्यरातमा हुनेछ भने कोपा अमेरिका बिहानीपख खेलिनेछ ।गत वर्ष युरोकप शुरूवात भएको ६० वर्षको अवसर पारेर यूरोपका विभिन्न १२ देश (डेनमार्क, हंगेरी, आयरल्यान्ड, नेडरल्यान्ड्स, रोमानिया, स्कटल्यान्ड, स्पेन, अजरबैजान, जर्मनी, इटाली, रसिया र इङ्ग्ल्यान्ड) मा संयुक्तरूपमा आयोजना गर्ने तय भएको थियो । तर, अहिले एक वर्षपछि युरोपका ११ देशका ११ सहरमा मात्र आयोजना हुने भएको छ । आयरल्यान्डको डब्लिन सहर आयोजकको सूचीबाट हटेपछि एम्सर्टड्याम, बाकु, बुखारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, लन्डन, म्युनिख, रोम, सेभिया र सेन्ट पिटर्सबर्गमा संयुक्तरूपमा आयोजना हुँदैछ । यसअघि, स्पेनको बिल्बाओमा सहरमा गर्ने भनिएपनि त्यहाँबाट स्पेनकै सेभियामा सारिएको हो ।आगामी शुक्रबार राति रोम सहरमा हुने उद्घाटन खेलमा समूह ए मा रहेको घरेलु टोली इटालीले टर्कीविरुद्ध खेल्दैछ । २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरी खेलाइने यस प्रतियोगितामा कुल ५१ म्याच हुनेछ । सन् २०१६ देखि युरोपेली फुटबल महासंघले युरोकपको अन्तिम चरणमा सहभागी हुने टोली संख्या १६ बाट २४ पु¥याएको हो । जुन २६ देखि नकआउट चरण हुनेछ भने जुलाइ २ बाट क्वार्टर फाइनल तथा जुलाइ ६ र ७ मा सेमीफाइनल हुनेछ । जुलाइ ११ मा फाइनल हुने यस प्रतियोगिताको दुई सेमिफाइनल र फाइनल भने इङ्ग्ल्यान्डको वेम्ब्ले स्टेडियममा हुनेछ ।

प्रतियोगिताको मुख्य दावेदारको रूपमा फ्रान्स, स्पेन, इटाली, जर्मनी र इङ्ग्ल्यान्डलाई हेरिएको छ । नर्थ मेसेडोनिया र फिनल्यान्ड भने युरोकपमा पहिलोपटक सहभागी हुँदैछ । खेलाडीहरूको कुरा गर्दा पोल्यान्डका रोबर्ट लेवान्दोव्स्की, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, फ्रान्सका क्लियन एम्बाप्पेले धेरैको ध्यान खिच्नेछ । त्यस्तै, सेक्स टेप ब्ल्याक मेलिङ स्क्यान्डलका कारण बितेका पाँच वर्षदेखि फ्रेन्च राष्ट्रिय टोलीमा नअटाएका करीम बेन्जेमाको पुनरागमन लगायत अन्य केही उदीयमान खेलाडीहरूले भने युरोकपलाई थप रोमाञ्चक बनाउनेछन् । तर, प्रतियोगितामा केही चर्चित अनुहारहरू भने देखिने छैनन् ।यसपटक च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका युवा स्टार अर्लिङ हलान्डले यो प्रतियोगिता खेल्ने छैनन् । उनको राष्ट्रिय टिम नर्वे यसपटक युरोकपमा छनोट हुन सकेन । प्रतियोगितामा नदेखिने अर्को ठूला नामहरू हुन् स्वीडेनका ज्लाटन इब्राहिमोभिच र स्पेनका सर्जियो रामोस । यी दुवैजना आफ्नो राष्ट्रिय टोलीमा अटाएका छैनन् । त्यस्तै, बेल्जियमका मिडफिल्डर केभिन डे ब्रुयेनेले पनि युरोकप खेल्ने टुङ्गो लागेको छैन । गत मे २९ मा भएको च्याम्पियन्स लिगको फाइनलमा आँखा र नाकमा चोट बोकेका कारण केभीनको युरोकप यात्रा अनिश्चित बनेको हो । त्यस्तै, टिममा अटाइसकेका नेदरल्यान्ड्सका डिफेन्डर जास्पर सिलेसन पनि कोरोना संक्रमित भएपछि टिमबाट बाहिरिएका छन् ।कोपा अमेरिकाभन्दा ४४ वर्ष कान्छो भए पनि तुलनात्मकरूपमा युरोकपको दायरा भने अन्य महादेशीय फुटबल प्रतियोगिताहरूको भन्दा फराकिलो नै छ । फिफा विश्वकपपछि सर्वाधिक चर्चित फुटबल प्रतियोगिताबाट परिचित छ युरोकप । वास्तवमा व्यापक आर्थिक लगानी र प्रचार–प्रसारको स्तरीयताका कारण पनि अन्य महादेशीय फुटबल प्रतियोगितालाई अहिले यूरो कपले उछिनेको हो । फिफा विश्वकपमा खेल्ने धेरै जसो राष्ट्रहरू सहभागी हुने कारणले पनि युरोकपले विश्वका अधिकांश फुटबलप्रेमीहरूको ध्यान तान्न सफल हुँदै आएको छ ।

स्टेडियममा प्रत्यक्ष खेल हेर्नका निम्ति यसपटक कोरोना सुरक्षित प्रोटोकल अपनाई निश्चित संख्यामा दर्शकहरूलाई मैदान प्रवेश गराउने भनिएको छ । तर, जारी गरिएका नियमहरू भने सहर अनुसार फरक तथा परिवर्तन गरिनेछ । स्कटल्यान्डले ग्लासगोमा हुने खेलहरू हेर्ने फ्यानलाई लन्डनमा हुने खेल हेर्न नजान आग्रह गरिसकेको छ । आयोजक राष्ट्रहरूले पनि टोलीहरू अगाडि बढ्दै जाँदा यात्रासम्बन्धी नियमहरूमा हेरफेर गर्ने नीति लिएको छ । रंगशाला प्रवेशमा कडीकडाइ गरिने भए पनि टेलिभिजन, सामाजिक सञ्जाल लगायत अन्य विभिन्न सञ्चारमाध्यमबाट विश्वका थुप्रै दर्शकले प्रतियोगिता हेर्ने अनुमान गरिएको छ । युरोपेली फुटबल महासंघले पछिल्लो पटक जारी गरेको तथ्याङ्क अनुसार सन् २०१६ मा सम्पन्न युरोकपका सम्पूर्ण ५१ खेलको दर्शक संख्या पाँच बिलियन रहेको जनाएको थियो । जसमध्ये फ्रान्स र पोर्चुगलबीच भएको फाइनल मात्रै ६ सय मिलियन दर्शकले हेरेको उल्लेख छ । उक्त तथ्याङ्कमा रंगशालामा उपस्थित दर्शकसहित संसारभर विभिन्न सञ्चार माध्यममार्फत् म्याच हेर्ने दर्शकलाई जोडिएको थियो । सहभागी राष्ट्रको संख्या बढाइएपछि सन् २०१२ मा भन्दा २०१६ मा २० म्याच बढी खेलाइएको थियो । जसका कारण १दशमलव १ बिलियन दर्शक संख्या बढेको तथ्यांकले देखाएको छ ।त्यसअघि सन् २०१२ को युरोकप अन्तर्गत इटाली र स्पेनबीचको फाइनललाई आधिकारिक टेलिभिजन प्रसारणमार्फत् मात्रै विश्वभर दुई सय ९९ मिलियन दर्शकले हेरेको बताइएको थियो । त्यस्तै, सन् २००८ मा स्पेन र जर्मनीबीच सम्पन्न फाईनलमा दर्शक संख्या २ सय ३७ मिलियन रहेको थियो । अमेरिकी टेलिभिजन संस्था ईएसपीएनको तथ्याङ्कलाई हेर्ने हो भने सन् २००८ भन्दा सन् २०१२ मा एक सय ४२ प्रतिशतले दर्शक संख्या वृद्धि भएको देखिन्छ । सामाजिक सञ्जालकै आंकडालाई मात्र मूल्याङ्कन गर्ने हो भने पनि सन् २०१२ मा हरेक सेकेन्ड सातपटक युरोकप सम्बन्धित ट्वीट हुने गरेको जनाइएको थियो । जसमध्ये फाइनलमा इटालीविरुद्ध स्पेनले चौथो गोल गर्दा त झन् प्रत्येक सेकेन्ड १५ हजार ट्वीट भएको बताइएको थियो ।

युरोकप विजेताहरू

अहिलेसम्म युरोकपको उपाधि १० राष्ट्रले मात्र जितेका छन् । जर्मनी र स्पेन युरोकपको सर्वाधिक सफल राष्ट्रहरू हुन् । प्रतियोगिताको यसअघिका १४ संस्करण मध्ये जर्मनीले सर्वाधिक ६ पटक फाइनल खेलिसकेका छन् । जसमा जर्मनी समान तीन–तीन पटक विजेता र उपविजेता बनेका थिए । जर्मनीले सन् १९७२, १९८० र १९९६ गरी तीन पटक युरोकप फुटबलको उपाधि उचालेको छ । यस्तै, सन् १९७६, १९९२ र २००८ मा भने जर्मनी उपविजेतामै सीमित बन्न पुग्यो । यता, स्पेनले युरोकपको फाइनल चारपटक खेल्दा तीनपटक मात्र उपाधि हात पारेको छ । स्पेनले सन् १९६४, २००८ र २०१२ गरी तीनपटक यूरोपियन च्याम्पियनशिपको उपाधि जितेको छ ।स्पेन लगालग दुई संस्करणको उपाधि जित्ने एक्लो टोलीसमेत हो । त्यस्तै, फ्रान्सले युरोकपको उपाधि दुईपटक जितेको छ । फ्रान्स सन् १९८४ र २००० गरी दुईपटक यूरोपियन च्याम्पियन बनेको थियो । गत संस्करणमा भने फ्रान्स आफ्नै घरेलु मैदानमा उपविजेतामा सीमित बनेको थियो । त्यस्तै, सन् १९६० मा तत्कालीन सोभियत संघ, १९६८ मा इटाली, १९७६ मा चेक रिपब्लिक, १९८८ मा नेदरल्यान्ड्स, १९९२ मा डेनमार्क, २००४ मा ग्रीस र २०१६ मा पोर्चुगलले समान एक–एकपटक उपाधि उचालेका छन् ।