कोरोनाले साग पदक विजेता केसीको निधन


काठमाडौं ।

सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेका पूर्व बक्सर हरिबहादुर केसीको निधन भएको छ ।

बक्सिङ खेलाडी, प्रशिक्षक तथा निर्णायक समेत रहेका हरिबहादुर केसीको कोरोनाका कारण बिहीबार निधन भएको नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले जानकारी दिएका छन् । केसीले भारतको मद्रासमा सम्पन्न सातौं दक्षिण एसियाली खेलकुदमा पनि कांस्य पदक जितेका थिए । सक्रिय खेलाडी जीवनलाई टुङ्ग्याएर पनि उनी बक्सिङकै विकास र विस्तारमा सक्रिय रुपमा लाग्दै आएका थिए ।

केसीले पछिल्लो समय प्रशिक्षणसँगै रेफ्री जर्ज (आरजे) को भूमिका पनि निर्वाह गर्दै आएका थिए । उनले स्वदेशमा आयोजना भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आरजेको भूमिका निर्वाह गरेका थिए ।