बालबालिकामा कोरोनाविरुद्धको खोप परीक्षण शुरू


काठमाडौंं, नेस ।

भारतले कोरोनाविरुद्धको खोप बालबालिकामा परीक्षण गर्न शुरू गरेको छ । विश्वव्यापीरूपमा कोरोना संक्रमण फैलिएको लामो समयपछि केही मुलुकले १२ वर्षमाथिका बालबालिकामा खोप परीक्षण शुरू गरेसँगै छिमेकी मुलुक भारतले बालबालिकामा कोरोनाविरुद्धको खोप परीक्षण गर्न शुरू गरेको हो ।

भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन खोप बालबालिकामा परीक्षण शुरू गरेको हो । यो खोपलाई भारतको औषधि नियन्त्रण विभागले एक महिनाअघि नै बालबालिकामा क्लिनिकल ट्रायलको अनुमति दिएको हो । भारतको नीति आयोगका स्वास्थ्य सदस्य विके पलले भारतीय औषधि नियन्त्रण विभागले २ देखि १८ वर्ष उमेरका बालबालिकामा यो खोप दोस्रो र तेस्रो क्लिनिकल परीक्षणका लागि अनुमति दिइसकेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

भारतले सन् २०२१ जनवरी १६ देखि विश्वकै सबैभन्दा ठूलो खोप अभियान शुरू गरेको छ । हालसम्म सबै स्वास्थ्यकर्मीले खोप प्राप्त गरिसकेका छन् भने फ्रन्टलाइनमा रहेर काम गर्ने सुरक्षाकर्मीलगायतलाई पनि खोप प्रदान गरिसकिएको छ । भारतमा झन्डै २२ करोडले खोप लगाइसकेका छन् ।