एकताको नाममा भुलाउने खेल

खनाल–नेपाल समूहको निष्कर्ष


मधुसूदन रायमाझी, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पार्टीभित्रको विवाद समाधानका लागि दोस्रा तहका नेताहरू सक्रिय बनिरहेको, तर पार्टी अध्यक्ष केपी शर्मा ओली भने एकताको नाममा भुलाउन लागिपरेको निष्कर्ष निकालेको छ ।खनाल–नेपाल समूहले बिहीबार आयोजना गरेको भर्चुअल भेलामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पार्टीको विधानविपरीत गतिविधि गर्दै जाने, नेताहरूमाथि कारबाही गर्ने अनि एकताको नाममा भुलाउने खेल खेलिरहेको निष्कर्ष निकालिएको हो ।

उक्त भेलामा नेता भीम रावलले भने ओली पक्षसँग संवाद, छलफलको वातावरण नभएको बताउनुभएको थियो । रावलको भनाइ उद्धृत गर्दै एक नेताले भने– ‘ओली पक्षले एकातिर कारबाही गर्ने, अर्कातिर स्पष्टीकरण सोध्ने अलिअलि छलफल पनि गर्नेजस्ता विरोधाभास कार्य गरिरहेको छ । ओलीको खेल हाम्रो समूहलाई कमजोर बनाउने र अलमल्याउने मात्र हो ।’औपचारिकरूपमा वार्ता नभएको अवस्थामा नेताहरूबीच कुराकानी हुनु अस्वाभाविक नभएको जिकिर गर्दै केन्द्रीय सदस्य देवशंकर पौडेलले भन्नुभयो– ‘हामीले त पार्टी एकता नै चाहेका छा, तर अध्यक्ष ओलीले कुनै पनि हालतमा पार्टी एकता बचाउन थोरै पनि इमानदारिता देखाउनुभएको छैन । बैठकले यही निष्कर्ष निकालेको छ ।’ उहाँले सर्वोच्च अदालतमा दायर गरिएको रिटको हस्ताक्षर फिर्ता लिने कुरा सम्भव नभएको जिकिर गर्दै पार्टीलाई विधिमा चलाउन २०७५ जेठ २ मा विनासर्त अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

भेलाले नेताहरूलाई सहमतिको नाममा अब धेरै अलमलमा पर्न नहुने सुझाव दिएको बताइएको छ । भेलामा एमाले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टी एकताका लागि भइरहेको अनौपचारिक छलफलका बारेमा केन्द्रीय सदस्यहरूलाई जानकारी दिनुभएको थियो । पाण्डे र भुसालले दोस्रा तहका नेताहरू पार्टीलाई २०७५ जेठ २ मै फर्काउन सकारात्मक भएको जानकारी गराउँदै अब पार्टी एकता बचाउने कि नबचाउने भन्ने विषय अध्यक्ष ओलीकै हातमा रहेको बताएको बैठकमा सहभागी एक नेताले बताए ।भेलामा केन्द्रीय सदस्यहरूले आफूहरूमाथि विभिन्न टिप्पणी गरेपछि एकताका लागि भइरहेको पहलमा नकारात्मक टीकाटिप्पणी नगर्न आग्रह गर्दै पाण्डे र भुसालले कम्युनिस्ट आन्दोलनको रक्षा हुन्छ र पार्टी एकता जोगिन्छ भनेर आफूहरूले वार्ता गरेको बताएका थिए । उहाँहरूको भनाइ उद्धृत गर्दै एक नेताले भने– ‘यो प्रयास केवल देखाउनका लागि नभएर पार्टी जोगाउन हाम्रो तर्फबाट इमान्दार प्रयास पनि हो ।’ती नेताका अनुसार पाण्डे र भुसालले नेताद्वयले आफूहरू खनाल र नेपालकै अनुमति लिएर अनौपचारिक छलफलमा बसेको बताउनुभएको थियो । दोस्रा तहका नेताहरूबीच जारी अनौपचारिक छलफलमा सहमति निर्माण भएको अवस्थामा शीर्ष तहमा वार्ता गराउने गृहकार्य अगाडि बढेको छ । पार्टीभित्रको नेताहरू एकता बचाउन दौडधुपमा जुटे पनि मुख्य समस्या भनेको २०७५ जेठ २ अघि नै फर्किने कि नफर्कने भन्नेमै रहेको बताइएको छ ।

स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

पार्टी एकता जोगाउनका लागि खनाल–नेपाल समूहका दोस्रा तहका नेताबीच जारी अनौपचारिक छलफल सकारात्मक बनेको भन्दै एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीबार बेलुका ४ बजेलाई बोलाइएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यसअघि, बुधबारको बैठक बिहीबारलाई सारिएको थियो । पार्टीभित्र चर्किंदै गएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरूबीच घनीभूतरूपमा छलफल भइरहेको र केही दिनभित्र नै परिणाम आउने सम्भावना रहेकाले बैठक स्थगित गरिएको एक स्थायी कमिटी सदस्यले बताए । खनाल–नेपाल समूहका नेताहरू गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र ओली पक्षका नेताहरू सुवास नेम्बाङ, प्रदीप ज्ञवाली, ईश्वर पोखरेलबीच पार्टी एकता जोगाउने नाममा धनीभूत छलफल जारी छ ।