कालो ढुसी संक्रमणबाट चारको मृत्यु 

कोरोना संक्रमित खतरामा



रोशन पराजुली, हेटौंडा । 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कैलाली बर्दगोरियाकाका ६५ वर्षीय एक पुरुषको म्युकोमाइकोसिस ९कालो ढुसी० संक्रमणबाट मृत्यु भएको छ ।जेठ १७ गते भर्ना भएका ती व्यक्तिमा कालो ढुसीको लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा ‘ब्ल्याक फङ्गस’ अर्थात् कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

यसैबीच, नारायणी अस्पतालले पनि कोरोना संक्रमणका कारण गम्भीर बिरामी भई निको भइसकेका वीरगञ्ज, बारा र पर्साका तीन जनाको कालो ढुसीको संक्रमणबाट मृत्यु भएको जनाएको छ । अस्पतालका अनुसार वीरगञ्जमा आठ जनामा कालो ढुसी पुष्टि भएको र उनीहरूलाई उपचारका लागि भारत पठाइएकोमा तीन जनाको मृत्यु भएको हो ।नारायणी अस्पतालका एक चिकित्सकका अनुसार झन्डै १ महिनाअघि वीरगञ्जकै एड्भान्स अस्पतालमा उपचारका लागि आएकी वीरगञ्ज–२७ अलौंकीकी ६५ वर्षीया महिलामा पहिलोपटक ब्ल्याक फङ्गसको संक्रमण पुष्टि भएको थियो । यो नै नेपालमा ब्ल्याक फङ्गसको संक्रमण भेटिएको पहिलो घटना हुन सक्ने अस्पतालमा खटिएका चिकित्सकले बताएका छन् ।चिकित्सकहरूको अहिलेसम्मको अनुभवमा कोरोना संक्रमित व्यक्तिमा कोरोना लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा कालो ढुसी संक्रमण देखा पर्ने गरेको छ ।कोरोना महामारीले आक्रान्त छिमेकी भारतमा कालो ढुसीको संक्रमणको खतरा बढेपछि हेटौंडामा कोरोना संक्रमणबाट मुक्त भएकाहरू आँखा जाँचका लागि अस्पताल पुग्ने क्रम बढेको छ । आँखामा केही असहजता आएको महसुस भएको भन्दै कालो ढुसीको संक्रमणको आशंकामा दैनिकजसो ३-४ जना हेटौंडा सामुदायिक आँखा अस्पताल पुग्ने गरेका छन् । तर, अहिलेसम्म यहाँका स्थानीयमा कालो ढुसीको संक्रमण पुष्टि भएको छैन ।

भारतको गुजरातस्थित सुरतमा कालो ढुसीको संक्रमणबाट ८ जनाको आँखाको ज्योति गुमेको घटना सार्वजनिक भएपछि स्थानीयमा त्रास छाएको छ । कोभिड र सुगर भएका बिरामीहरूलाई यस्तो संक्रमण हुने सम्भावना बढी रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा। सुनील थकाली बताउनुहुन्छ । ‘समय छँदै यसलाई नियन्त्रित गरिएन भने यो प्राणघातक हुने देखिएको छ’, डा।थकाली भन्नुहुन्छ– ‘कालो ढुसीले धेरैजसो रोगप्रतिरोधी क्षमता कमजोर भएकालाई आक्रमण गर्छ । कोरोना संक्रमित रहेकै क्रममा कालो ढुसीको पनि संक्रमण भयो भने बिरामीको ज्यान जाने खतरा बढ्छ ।’उहाँका अनुसार बिरामी जति लामो समयसम्म अस्पतालमा रहन्छ, जति लामो समयसम्म रोग प्रतिरोधात्मक औषधि खान्छन् र स्टेरोइडको प्रयोग गर्छन् अर्थात् हाइफ्लो अक्सिजनको प्रयोग अधिक गर्छन्, उनीहरूमा कालो ढुसी संक्रमणको खतरा त्यति नै बढ्दै जान्छ । मानिसको शरीरमा कोरोना भाइरस प्रवेश गर्ने माध्यम आँखा भएकाले कालो ढुसीको आक्रमण बढेको हुन सक्ने डा। थकाली बताउनुहुन्छ । कोरोना संक्रमण भएको ६ सातासम्म यस्तो संक्रमण हुने अध्ययनले बताएको छ । उक्त संक्रमण कोरोनाकै कारण फैलिइरहेको र यसको उपचार सम्भव रहेको डा। थकालीको दाबी छ ।

डा थकालीले आँखा दुख्ने, आँखा सुन्निने र एउटा चिजलाई दुईवटा देख्ने वा देख्दै नदेख्ने लक्षणसहित ज्वरो आएमा, टाउको दुखेमा, खोकी लागेमा वा सास फेर्न गाह्रो भएमा, नाक बन्द भएमा, नाकमा सिगानका साथ रगत आएमा, अनुहारको एक पाखा मात्र दुखेमा कालो ढुसीको संक्रमण भएको हुन सक्ने बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले वीरगञ्जबाट देखिन थालेको यो सङ्क्रमण बाँके, काठमाडौंलगायतका शहरमा पनि देखिएको र काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र वीर अस्पतालमा पनि कालो ढुसी संक्रमित केही बिरामीको उपचार शुरू गरिएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्