प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, होला थप १२ जना नेतालाई कारवाही?


न्युज अफ नेपाल ,काठमाडौं ।

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पनि पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्। स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार ओलीले दिउँसो ४ बजे सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन्।

यसअघि मंगलबार पनि ओलीले बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक बोलाएका थिए। बैठकमा माधवकुमार नेपाल पक्षका थप १२ जना नेताहरुलाई अनुशासन उल्लंघनको कारवाही गर्ने अनुमान गरिएको थियो।

तर बैठक अगावै पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले स्पष्टीकरण सोधिएका नेताहरुका मामिलामा छलफल गर्ने एजेण्डा बैठकमा नरहेको जानकारी दिएका थिए।ओलीले नेपाल पक्षका १२ जना नेतालाई यही जेठ १२ गते स्पष्टीकरण सोधेका थिए। त्यसअघि जेठ १० गते उनले नेपालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निस्काशनको निर्णय स्थायी कमिटी बैठकबाट गराएका थिए।