लुम्बिनी प्रदेशको बजेट अधिवेशन आज बस्दै


न्युज अफ नेपाल वुटवल ।

लुम्बिनी प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन आज शुरु हुँदैछ । बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

आजको बैठक शुरू भएपछि सत्ता बाहिर रहेका नेपाली कांग्रेस , माओबादी केन्द्र, जसपा र जनमोर्चाले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग्ने तयारी गरेका छन् । बहुमतको अवस्थामा नहुँदा पनि नेकपाका नेता पोखरेललाई प्रदेश प्रमुखले नियुक्ती गरेको भन्दै विपक्षीदलले यसको विरोध गर्दै राजीनामा माग्ने बताएका छन् ।

पोखरेलले बहुमत पुर्‍याएको दाबी गर्दै प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ती गरेका थिए । लुम्बिनी प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ सभामुखसहित, अल्पकालीन आदेशबाट सांसद् पद पाएका ४ जनासहित जसपाका ६ र राष्ट्रिय जनमोर्चामा एक सांसद छन् ।