तुलसीपुर मेट्रो अस्पतालमा ६१ जनाले जिते कोरोना


दाङ (नेस) । तुलसीपुर मेट्रो अस्पतालमा सञ्चालित कोरोना आइसोलेसनबाट अहिलेसम्म ६१ जनाले कोरोना जितेर घर फर्किएका छन् ।शान्तिनगर र तुलसीपुरका सहित २ जना कोरोना संक्रमित मंगलबार कोरोना जितेर घर फर्किएपछि निको हुनेको संख्या ६१ जना पुगेको हो । कोरोना जितेका दुवैजनालाई लुम्बिनी प्रदेशका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई र रामलखन हरिजनले स्वास्थ्य सामग्री दिएर बिदाइ गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रिय सभा सदस्य भट्टराईले स्थानीय तहले आफ्नै लगानीमा अक्सिजन सहितको ५० बेडको आइसोलेसन अस्पताल निर्माण गर्नु उदाहरणीय काम भएको बताउनुभयो । कोरोना महामारीका बेला अक्सिजन र बेड नपाएर नागरिक छटपटिएको बेला आइसोलेसन अस्पताल निर्माण गर्नु प्रसंशनीय कार्य भएको उहाँले बताउनुभयो ।अस्पतालमा उपचार सेवा लिन आएका एक सय १८ जना कोरोना संक्रमित बिरामीमध्ये पाँच जनाको उपचारका क्रममा मृत्यु भएको छ भने ६१ जना निको भएर घर फर्किएको तुलसीपुर उपमहानगरपालिका कोभिड –१९ फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।

त्यसैगरी, ३४ जनालाई थप उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको छ भने अहिले अस्पतालमा १८ जनाको उपचार भइरहेको छ । वैशाख २८ गते राति ११ बजेदेखि सञ्चालनमा आएको कोरोना अस्पताल तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेको नेतृत्वमा एकहप्ताभित्र तयार भएको थियो ।अस्पतालको व्यवस्थापन तथा कोरोना महामारी नियन्त्रणका लागि विभिन्न व्यक्ति र सामाजिक संघसंस्थाले पनि सक्दो सहयोग गर्ने गरेको तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो । भिमेसन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रअन्तर्गत तुलसीपुर मेट्रो अस्पताल तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो ।