उपत्यकामा खुकुलो पारिँदै निषेधाज्ञा


सुनील महर्जन, काठमाडौं ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू जेठ २१ गतेपछि निषेधाज्ञामा खुकुलो गर्ने तयारीमा पुगेका छन् ।उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञाको अवधि जेठ मसान्तसम्म लम्ब्याउने निर्णयमा पुगेको हो भने अबको निषेधाज्ञा पछिल्लो निषेधाज्ञाभन्दा खुकुलो हुने बताइएको छ ।

एक साताको कडा निषेधाज्ञाको समीक्षा गर्दै खुकुलो बनाउने विषयमा छलफल गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिलेसम्म गरिएको निषेधाज्ञा केही सुधारोन्मुख भएको छ । अहिले संक्रमणदर घट्दै गएको छ भने अस्पतालहरूमा संक्रमितका लागि उपचार गर्न बेड तथा अक्सिजनको अभाव हटेको छ । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा थप छलफल भएको छ ।’बैठकले गरेको निर्णय गृह सचिव महेश्वर न्यौपानेसँग छलफल गरे पनि सार्वजनिक जानकारीको लागि प्रकाशित गर्ने बुझिएको छ । पछिल्लोपटक खाद्य पसलहरूमा समेत लगाइएको प्रतिबन्धले भीड धेरै हदसम्म नियन्त्रणमा आएको निष्कर्षमा अधिकारीहरू पुगेका थिए । ‘अब खाद्य सामग्री बिक्रीमा केही खुकुलो र व्यवस्थित बनाउनेबारे तयारी गरेको छौं । स्वास्थ्य मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा हाल संक्रमण दर केही घटेको देखिन्छ’ –प्रजिअ निरौलाले भन्नुभयोे । संक्रमण र स्वास्थ्यविज्ञहरूको सुझाव तथा अन्य अध्ययनलाई विश्लेषण गरी निषेधाज्ञाबारेको निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो ।

शुरूमा वैशाख १६ देखि २२ गतेसम्म लागु निषेधाज्ञा दोस्रोपटक जेठ २९ गतेसम्म, तेस्रोपटक जेठ १३ गतेसम्म र चौथोपटक जेठ २० गतेसम्म लम्ब्याएको थियो । निषेधाज्ञा पछिल्लो सातादेखि थप कडाइ गरिएको थियो । यो सातामा किराना पसलसमेत खोल्न दिइएको छैन भने सडकमा सवारीसाधनलाई पनि कडाइ गरिएको थियो ।अब संक्रमणदर कम हुँदै गएकाले किराना पसल सञ्चालन गर्न दिने तयारी भइरहेको छ । एक दिन बिराएर सार्वजनिक र निजी निर्माण गर्न दिने, केही सवारीसाधन चल्न दिन सकिनेलगायतका विकल्पमा छलफल भएको बुझिएको छ । त्यसैगरी, तरकारी पसल पनि भौतिक दुरी मिलाएर खुल्ने दिने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोगगरी जिल्ला प्रशासन कार्यालयले सो निषेधाज्ञाको आदेश जारी गरेको हो ।