ओली र नेपाल पक्षबीच छलफल


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोश्रो तहका नेताहरूबीच सोमबार राति दरबारमार्गस्थित एक होटलमा ४ घण्टा एमालेभित्रको एकताबारे छलफल भएको छ ।

वार्तामा नेपाल पक्षका तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई सहभागी थिए। ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सहभागी थिए।प्रधानमन्त्री ओली तर्फबाट उपप्रधानमन्त्री एंव एमाले महासचिव ईश्वर पोखरेलले पनि वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई पटक(पटक भेट गरिसकेका छन्। खनाल निवास डल्लु र नेपाल निवास कोटेश्वर पुगेर पोखरेलले गरेको अनौपचारिक छलफलले सकारात्मक निकास निकाल्न सकेको छैन।

नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को संगठनात्मक संरचनामा फर्काउने अडान लिदै आएको छ। तर ओली भने त्यसका लागि तयार भएका छैनन्। ओलीले नेपाल पक्षका नेताहरूलाई पटक(पटक कारबाही गरिसकेका छन्। वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित नेताहरू मुकुन्द न्यौपाने, भीम रावललगायत १३ सांसदलाई पार्टीबाट निश्कासन गरिसकेका छन्। पार्टी नेता एवम् सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायतका १२ जनालाई ओलीले २४ घन्टे स्पष्टीकरण सोधेका छन्। कुनैपनि नेताले स्पष्टीकरणको जवाफ भने दिएका छैनन्।