बजेट आशा जागृत गराउन असफल: कांग्रेस


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली कांग्रेसले कोरोना महामारीबाट सबै क्षेत्र आक्रान्त भएको बेलामा सरकारले ल्याएको बजेटले नागरिकमा कुनै पनि आशा जगाउन नसकेको टिप्पणी गरेको छ ।कांग्रेसले सोमबार बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै जारी गरेको वक्तव्यमा यस्तो टिप्पणी गरिएको हो । विपद्को परिस्थितिमा सरकारले कोभिड रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो कार्ययोजना बजेटमा ल्याउन नसकेको आरोप लगाउँदै नागरिकमा यो बजेटले आशा जागृत गर्न नसकेको वक्तव्यमा उल्लेख गरिएको छ ।

आगामी आर्थिक वर्षमा प्रक्षेपित चालु खर्च घट्ने आधार नदेखिएको भन्दै कांग्रेसले परिणामस्वरुप पुँजीगत निर्माणका लागि आवश्यक रकम जोहो गर्न सम्भव नहुने बताएको छ । भ्रमको खेती गर्ने उद्देश्यका साथ बजेटमा प्रस्तुत गरिएका योजनाको कार्यान्वयन सम्भव नभएको र नागरिकको थाप्लोमाथिको ऋणभार अझ बढ्ने निश्चित रहेको कांग्रेसको दाबी छ । सरकारले आफ्नो कार्यभार सम्हाल्दा सार्वजनिक ऋण ८०९ अर्ब रहेकोमा कुनै ठोस उपलब्धिबिना नै त्यो ऋण अहिले झन्डै दुई गुणाले बढेर १६०० अर्ब पुगेको पनि विज्ञप्तिमा उल्लेख छ ।प्रत्येक नागरिकमाथि झन्डै ५५ हजार ऋणभार रहेको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ– ‘बजेटले महँगी र बेरोजगारी बढ्ने निश्चित छ ।’ वक्तव्यमा भनिएको छ– ‘अनेकाै छलछाम र प्रपञ्च रची प्रतिनिधिसभा विघटन गरेर आफ्नो वैधनिकता गुमाइसकेको सरकारले जारी गरेको आर्थिक वर्ष २०७८÷७९ को आयव्ययको वक्तव्य असंवैधानिक रहेको ठहर छ ।’ संसद्लाई छलेर राजस्व र व्ययको विनियोजन गर्ने र राष्ट्रिय ऋण उठाउन प्रस्तुत गरिएको यो बजेट, सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने जस्ता कुनै पनि कार्य जनताका प्रतिनिधिको स्वीकृतिबेगर गर्न पाइँदैन भन्ने स्थापित लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको वक्तव्यमा उल्लेख छ ।

झन्डै साढे तीन वर्षदेखिको शासनको असफलतापछि पनि हावादारी गफबाट नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन सकिन्छ भन्ने भ्रमबाट सरकार अझै मुक्त हुन नसकेको टिप्पणी गर्दै विज्ञप्तिमा भनिएको छ– ‘अघिल्लो वर्ष माघ १४ गते प्रधानमन्त्रीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने घोषणा गरेको चार महिना बितिसक्दा पनि देशमा जम्मा दुई लाख ३२ हजार नागरिकले मात्र दुवै मात्रा खोप लगाउन पाएका छन् ।’बजेट विनियोजन गरिएको भए तापनि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता, स्वास्थ्य उपचारमा गरिएको लापरबाही, कोरोना जोखिमबारे गैरजिम्मेवाररूपमा प्रधानमन्त्रीले दिनुभएका सार्वजनिक अभिव्यक्तिका कारण अघिल्लो वर्ष देश, जनता र अर्थतन्त्रले निकै ठूलो क्षति व्यहोर्नुपरेको वक्तव्यमा उल्लेख गरिएको छ । कोरोना संक्रमण अत्यन्त तीव्र र भयावहरूपमा फैलिरहेको वर्तमान अवस्थामा यस्तो क्षतिले अझ भयावहरूप लिन सक्ने पनि वक्तव्यमा औंल्याइएको छ ।
जेठ १५ सम्म ८ सय ५९ अर्ब कुल खर्च गरेको र यो आर्थिक वर्षको अन्त्यसम्म १२ सय ६५ अर्ब कुल खर्च हुने संशोधित अनुमान गर्ने सरकारले अर्को आर्थिक वर्ष यस्तो खर्च ३० प्रतिशतले बढाउने महत्वकांक्षी लक्ष्य राखेको वक्तव्यमा भनिएको छ । गठन कालदेखि कुनै पनि आर्थिक वर्षमा २ सय ५० अर्ब पुँजीगत खर्च गर्न नसकेकोे सरकारले जेठ १५ सम्म १ सय ३३ अर्ब पुँजीगत खर्च गरेको उल्लेख छ ।प्रधानमन्त्री, अर्थमन्त्री र पहुँचवाला सरकारी नेताहरूको निर्वाचन क्षेत्रमा अन्यायपूर्ण तवरले अत्यधिकरूपमा बजेट विनियोजन भएको सुन्दा आहतमा परेका नागरिकको विवेकमा अपमान भएको टिप्पणी वक्तव्यमा गरिएको छ ।
बजेट भाषणमा भनिएजस्तो अर्थतन्त्रको बिस्तार ६.५ प्रतिशत हुने सम्भावना नरहेको दाबी गर्दै कांग्रेसले कोभिड संक्रमणको दोस्रो लहरका कारण यो वर्ष पनि अर्थतन्त्र सिमान्तरूपमा मात्रै बिस्तार हुने आँकलन विज्ञप्तिमा उल्लेख छ ।