इजलास गठन विवाद , न्यायाधीश केसी र श्रेष्ठले आफ्नो धारणा राख्ने


काठमाडौं, (नेस) ।

संवैधानिक इजलासमा रहनुभएका न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठले सो इजलासमा बस्न मिल्ने वा नमिल्ने भन्ने सम्बन्धमा मंगलबार आफ्नो धारणा राख्नुहुने भएको छ ।

सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरुद्ध दायर भएका रिट निवेदनको सुनुवाइ गर्न न्यायाधीशहरू केसी र श्रेष्ठले नमिल्ने भनी प्रश्न उठेपछि त्यससम्बन्धमा उहाँहरूले आफ्नो धारणा राख्न खोज्नुभएको हो ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराईसँगै केसी र श्रेष्ठ पनि सम्मिलित छन् ।

न्यायाधीशद्वय केसी र श्रेष्ठले गत फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टीसँग सम्बन्धित रिट निवेदन सुनुवाइ गरी निर्णय गरेको अवस्थामा प्रतिनिधिसभा विघटनसँग सम्बन्धित रिट निवेदनको सुनुवाइ गर्न नमिल्ने भनी प्रश्न उठिरहेको छ । यस प्रश्नले न्यायालयमा गम्भीर रूप लिइरहेको छ ।आइतबार बसेको संवैधानिक इजलासमा बहस सकिएपछि सो इजलासमा रहेका न्यायाधीशहरूबीच न्यायाधीद्वय केसी र श्रेष्ठले आफू सो इजलासमा बसी रिट निवेदनको सुनुवाइ गर्न मिल्ने वा नमिल्ने भनी लिखितरूपमा आफ्नो धारणा राख्ने गरी सहमति भएको बताइएको छ ।