राष्ट्रियसभा सदस्यमा विपक्षी गठबन्धनका पाण्डेय विजयी


नरेन्द्र केसी, घोराही । 

राष्ट्रियसभाको एक सदस्यका लागि लुम्बिनीमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी हुनुभएको छ । उहाँ विपक्षी गठबन्धनको तर्फबाट चुनाव लड्नुभएको थियो । सत्तारूढ एमाले उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाउनुभएको छ भने प्रतिस्पर्धी खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । जसअनुसार पाण्डेयले प्रदेशसभा सदस्यबाट २ हजार १६ र स्थानीय तहतर्फ २ हजार १ सय २४ गरी ४ हजार १ सय ४० मतभार प्राप्त गर्नुभएको छ ।

त्यस्तै, खड्काले प्रदेशसभा सदस्यबाट १ हजार ९ सय २० र स्थानीय तहतर्फ १ हजार ६ सय ९२ गरी ३ हजार ६ सय १२ मतभार प्राप्त गर्नुभएको छ ।कांग्रेसका पाण्डेयलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन उम्मेदवारका रूपमा उठाएको थियो । उहाँलाई माधवकुमार नेपालनिकट नेकपा एमालेका जनप्रतिनिधिले पनि मतदान गरेका छन् । यसअघि, वागमतीमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गबठन्धनले नेपालनिकट डा. खिमलाल देवकोटालाई अघि सारेको थियो । सोही गठबन्धनको निरन्तरतास्वरूप यो निर्वाचन भएकाले यसमा एमालेको नेपाल पक्षले मतदान गरेको एक नेताले बताए ।

तत्कालीन माओवादी केन्द्रबाट राष्ट्रियसभामा निर्वाचित चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पद रिक्त भएको थियो । उपनिर्वाचनमा एमालेले खड्कालाई नै अघि सारेको थियो भने गठबन्धनले दृगनारायण पाण्डेयलाई अघि सारेको थियो । यसअघि, एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित पाण्डेय गत वैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर पुनः नियुक्त भएपछि प्रदेशसभा सदस्यबाट राजीनामा गरी कांग्रेस प्रवेश गर्नुभएको थियो ।राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि पत्रकारहरूसँग कुरा गर्दै पाण्डेयले प्रतिगमनका विपक्षमा देशव्यापी गठबन्धन मजबुत बन्दै गएको भन्दै यो निर्वाचनबाट थप पुष्टि भएको बताउनुभयो । सरकारबाट संविधान र गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको भन्दै उहाँले यसविरुद्ध राष्ट्रिय एकता कायम गरेर जानुपर्ने र आफ््नो जितलाई त्यही अभ्यासका रूपमा लिएको बताउनुभयो ।

मुख्यमन्त्री अल्पमतमा रहेको थप पुष्टि: गठबन्धन

गठबन्धनले प्रदेशसभा सदस्यबाट ४१ मत आउने आंँकलन गरेको भए पनि ४२ मत प्राप्त भएको छ । प्रदेशसभा सदस्यमा कुल ८३ सदस्य कायम रहेकोमा गठबन्धनले ४२ र एमालेले ४० मत पाएको छ भने एक मत बदर भएको छ । एक प्रदेशसभा र स्थानीय तहतर्फ एक एक मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभामा गबन्धनको बहुमत रहेको र मुख्यमन्त्री अल्पमतमा रहेको दाबी गर्दै आएको विपक्षी गठबन्धनले फेरि यो तथ्य पुष्टि भएको बताएको छ । माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले ८३ सांसदमध्ये ४२ जनाले गठबन्धनको पक्षमा मत जाहेर गरेर मुख्यमन्त्री अल्पमतमा रहेको पुष्टि गरेको दाबी गर्नुभयो ।