सरकारमा सहभागी हुने तयारीमा ठाकुर समूह


मधुसूदन रायमाझी, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्दै आएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर समूह महत्वपूर्ण मन्त्रालयसहित सरकारमा सहभागी हुने तयारीमा जुटेको छ ।

सोमबार प्रधानमन्त्री ओलीले पुनः जसपाका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोलाई सरकारमा सहभागी हुन आग्रह गरेपछि जसपाको ठाकुर समूह सरकारमा सहभागी हुन मन्त्रीहरूको नामावली तयारीमा लागेको बताइएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित एमाले शीर्ष नेताहरू र ठाकुर–महतो पक्षबीच भएको छलफलमा प्रधानमन्त्रीले सरकारमा चाँडो सहभागी हुन आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कोभिडका बेला धेरैभन्दा धरै काम गर्नुपर्ने अवस्था छ । अहिले पनि सात मन्त्रालय खाली छन् । छिटोभन्दा छिटो ती मन्त्रालयमा मन्त्री नियुक्त गरेर अगाडि बढ्ने सोचमा प्रधानमन्त्री रहनुभएको छ ।’

जसपाका नेता लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सैद्धान्तिक सहमति जुटिसकेको बताउँदै भन्नुभयो– ‘हामीलाई आठ मन्त्रालयसहित दुई राज्यमन्त्री लिन भन्नुभएको छ । हाम्रा धेरै मागहरू पूरा भएकाले अब पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छौं ।’ उहाँले अब केही मुद्दा फिर्ता लिने र अदालतमा विचाराधीन मुद्दाबाहेक आफूहरूले उठाएका माग कार्यान्वयनका लागि प्रक्रियामा गएको बताउनुभयो । सरकारमा सहभागी हुने विषयलाई लिएर ठाकुर समूहमा नेताहरूबीच हानाथाप शुरू भएको बताइएको छ ।ठाकुर–महतो पक्षले प्रधानमन्त्री ओलीलाई निरन्तरता दिने निर्णय गरेसँगै जसपभित्र विवाद चर्किंदै गएको छ । पार्टीभित्रको विवाद विभाजनको डिलमा पुगेको छ । पार्टीभित्रको विवाद बढ्दै गएपछि जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आ–आफ्नो बाटो लाग्नुपर्ने बताउनुभएको छ ।

पार्टी निर्णयविपरीत ओलीलाई सहयोग गरेको भन्दै जसपाका संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले ठाकुर–महतो पक्षका नेताहरूलाई स्पष्टीकरण सोधेको छ । उक्त स्पष्टीकरणको जवाफ ठाकुर महतो पक्षले दिएको छैन । उल्टै ठाकुर–महतो पक्षले पनि यादवलाई स्पष्टीकरण सोधेको छ । यादवले पनि स्पष्टीकरण दिनुभएको छैन । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा ३० जना भट्टराई–यादवको पक्षमा रहेकाले बहुमतको निर्णय मान्नुपर्ने भट्टराई र यादवको तर्क रहँदै आएको छ । संसदीय दलमा भने ठाकुर–महतो पक्षको बहुमत छ । गत वैशाख २७ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा नै भट्टराई र यादव समूहका सांसदले विपक्षमा मतदान गरेका थिए भने महतो समूहले तटस्थ बस्ने निर्णय लिएको थियो ।