बागमती प्रदेशको नियती लुम्बिनीमा पनि, विपक्षी गठबन्धनका पाण्डेय राष्ट्रियसभा सदस्यमा निर्वाचित

462
Shares

यमलाल भुसाल, बुटवल ।

सरकार पक्षले बागमती प्रदेशमा भोगेको नियतीलाई पुनः लुम्बिनी प्रदेशमा पनि दोहोरिएको छ । सोमबार भएको राष्ट्रिय सभा सदस्यकोे उप निर्वाचनमा लुम्बिनी प्रदेशबाट विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय निर्वाचित हुनु भएको छ । नेपाली काग्रेसका उम्मेदवार पाण्डेयलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समुहको समर्थन रहेको थियो । पाण्डेयले ५२८ मतभार अन्नतले सरकारको नेतृत्व समालेको एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई हराएका हुन ।

खड्कालाई एमाले,महन्त ठाकुर समूह लगायतकाको समर्थन रहेको थियो । पाण्डेय यस अघि प्रदेश सभा सदस्य थिए । एमालेबाट जितेका पाण्डेयले राजिनामा दिएर काग्रेसमा प्रवेश गरेका थिए । पाण्डेले स्थानीय तह तर्फ २१२४ मत भार र प्रदेश तर्फ २०१६ मतभार गरि कुल ४१४० मतभार प्राप्त गरेका छन । प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका चन्द्रबहादुर खड्काले ३६१२ मत प्राप्त गर्नुभएको छ । महन्थ ठाकुर पक्षको जनता समाजवादी पार्टीको समर्थनमा उम्मेदवार बन्नभएका एमालेका खड्काले प्रदेश सभातर्फ १ हजार ९ सय २० र स्थानीय तहतर्फ १ हजार ६ सय ९२ गरी ३ हजार ६ सय १२ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचनका तीनवटा मतदान केन्द्रबाट मतदान भएको थियो । उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु २१७ जना गरी जम्मा ३ सय जना मतदाता रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनु भयो । तीन सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो । निर्वाचनमा राप्रपाले बहिस्कार गरेको छ । २ मत बदर भयको थियो । बांकेको नेपालगन्ज उपमहानगर का नगर प्रमुख र नरैना गाउपालिका तथा गुल्मी जिल्लाको दरबार गाउपलिकाका अध्यक्ष मतदानमा सहभागी भएनन ।माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन गरिएको हो ।