चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि


लन्डन, (एजेन्सी) ।
इङ्ग्लिस प्रिमियर क्लब चेल्सीले सिजन २०२०–२१ को यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनल खेलमा प्रिमियर लिगकै प्रतिस्पर्धी टोली म्यानचेस्टर सिटीलाई १–० गोलअन्तरले हराउँदै चेल्सी यस सिजनको च्याम्पियन बनेको हो । यससँगै चेल्सीले क्लब इतिहासमा दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । चेल्सीले सन् २०१२ पछि उपाधि जित्दै क्लब इतिहासमा च्याम्पियन्स लिग उपाधि संख्या दुई पु-याएको हो ।

यता, क्लबको १ सय ४१ वर्ष लामो इतिहासमै पहिलोपटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल पुगेको म्यानचेस्टर सिटी भने पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेर इतिहास रच्नबाट चुक्यो । चर्चित प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीले अपेक्षित प्रदर्शन गर्न नसक्दा चेल्सीले पहिलो हाफमा गरेको गोल नै जितका लागि पर्याप्त बन्यो । ग्वार्डियोलाले बार्सिलोनासँग च्याम्पियन्स लिगको उपाधि जितेयता च्याम्पियन बन्न सकेका छैनन् । उनले अन्तिमपटक यस प्रतियोगिताको उपाधि सन् २०१०–११ को सिजनमा जितेका थिए । यता नयाँ प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको चेल्सीले भने प्रिमियर लिग च्याम्पियन सिटीविरुद्ध उत्कृष्ट रक्षात्मक खेल पस्कन सफल भयो । चेल्सीका प्रशिक्षक टुसेलका लागि च्याम्पियन्स लिग पहिलो उपाधि बन्यो । अघिल्लो सिजनमा पीएसजीको प्रशिक्षक हुँदा फाइनलमा पुगेका टुसेलको टिम बार्यन म्युनिखसँग १–० ले पराजित भएको थियो ।पोर्चुगलको पोर्टो सहरस्थित इस्टाडियो डु ड्रागाओ रंगशालामा शनिबार मध्यरातमा भएको खेलको पहिलो हाफमा चेल्सीले सिटीविरुद्ध १–० को अग्रता लिएको थियो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिम ४१औं मिनेटसम्म गोलविहीन बनेका थिए ।

तर, दुवै टोलीले आक्रामक खेल पस्केका थिए । जसअनुसार चेल्सी ४२औं मिनेटमा गोलको खाता खोल्न सफल भयो । सो गोल सिटीको डिफेन्सको गल्तीका कारण भएको थियो । सिटीका डिफेन्डर र गोलकिपर आफ्नो गोेलपोस्ट छाडेर अघि बढेका बेला लामो दुरीबाट आएको बलमा जर्मन युवा खेलाडी काई हाभर्ट्जले कुनै गल्ती नगरी गोलकिपरलाई बिट गरेर खाली पोस्टमा बल छिराएका थिए । हाभर्ट्जको गोलमा युवा खेलाडी मासोन मोउन्टले लामो दुरीबाट निकै राम्रो असिस्ट प्रदान गरेका थिए । च्याम्पियन्स लिगमा हाभर्ट्जको यो पहिलो गोल हो । अघिल्लो सिजनमा करिव ७३ मिलियन पाउण्डमा चेल्सीमा आएका हाभर्टजले मुख्य खेलमा आफ्नो जादु देखाए । यसका साथै उनी च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने कान्छो खेलाडी पनि बनेका छन् । उनले २१ वर्ष तीन सय ५२ दिनमा गोल गर्न सफल भए । उनी लार्स रिकेनपछि गोल गर्ने सर्वाधिक कान्छो खेलाडी बने । बोरुसिया डर्टमन्डबाट युभेन्ट्सविरुद्ध गोल गर्दा लार्सको उमेर मात्र २० वर्ष तीन सय २२ दिन थियो ।हाभर्ट्जकोे गोलको मद्दतमा चेल्सीले पहिलो हाफमा १–० को अग्रता बनायो । त्यसपछि दोस्रो हाफका शुरूवातबाटै खेलमा फर्किन संघर्षरत सिटीका थुप्रै प्रयास असफल भए । कप्तान तथा प्लेमेकर केभिन डे ब्रुयेनेले आँखामा चोटे बोकेर ६०औं मिनेटमा मैदान छाडेपछि सिटीको समस्या झनै बढेको थियो ।

डिफेन्डर एन्टोनियो रुडीगरसँग जुध्न पुग्दा उनको अनुहारमा चोट लागेको थियो । त्यसपछि, सिटीले लगातार खेलाडी परिवर्तन गर्दै खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन । वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फरवार्ड सर्जियो अगुएरोले सिटीका लागि अन्तिम खेल हारका साथ अन्त्य गरे । ८५ औं मिनेटमा सब्सिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका सर्जियो अगुइरोले गरेको एउटा राम्रो प्रयासमा चेल्सीका गोलकिपर मेन्डी बाधक बने । खेलको अन्तिममा पनि सिटीले एउटा मौका पाउँदा त्यसलाई पनि आत्मसात गर्न सकेन ।यता, चेल्सीले पनि पहिलो हाफमा नै अनुभवी डिफेन्डर थियागो सिल्भालाई चोटका कारण गुमाएको थियो । सिटीको आक्रामक टोलीसामु चेल्सीले रक्षापंक्ति पर्खाल सरह बनेका थिए । जसका कारण सिटीको हरेक आक्रमण विफल बनेपछि चेल्सीले उपाधि उचाल्यो । चेल्सीले प्रतियोगिताको उपाधि जित्दा गोलकिपर मेन्डी यस प्रतियोगिताको फाइनल खेल्ने र उपाधि जित्ने पहिलो अफ्रिकी गोलकिपर बने । त्यस्तै, क्रिस्टियन पुलिसिक पनि च्याम्पियन्स लिगको फाइनल खेल्ने र जित्ने पहिलो अमेरिकी खेलाडी बनेका छन् ।