संक्रमित महिलाको शल्यक्रिया


बैतडी, (नेस)

बैतडीमा पहिलोपटक एक कोरोना संक्रमित महिलाको शल्यक्रिया मार्फत सुत्केरी भगराइएको छ । दशरथचन्द नगरपालिका–४ की २१ वर्षीया महिलाले शनिबार राति जिल्ला अस्पताल बैतडीमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् ।

९ दिनअघि कोरोना पुष्टी भएकी ती महिला होम आइसोलेसनमै बसिरहेकी थिइन् । एक हप्तअघि नै सुत्केरी हुने मिति रहेकोमा महिलामा सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो । शुक्रबार राति अस्पताल भर्ना भएकी ती महिला नर्मल हिसाबले सुत्केरी हुन नसकेपछि शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो ।

उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर संक्रमित महिलाको शल्यक्रिया गरिएको जोशीको भनाइ छ । ‘एक हप्ताअघि डेट रहेछ, पानीको मात्रा कम थियो, त्यसपछि शल्यक्रिया गरेर सुत्केरी गराएका हौं ।’ –उहाँले भन्नुभयो ।ती महिलाले पहिलो सन्तानका रूपमा छोरा जन्माएको अस्पतालले जनाएको छ । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।