सर्लाहीमा जंगली हात्तीले भत्कायो चार घर


पुस्तिका केसी, सर्लाही

लालबन्दी नगरपालिका–१० पोखरी टोलमा जंगली हात्तीले आइतबार बिहान चारवटा कच्ची घर भत्किएको छ । तीनवटा जंगली हात्तीले स्थानीय श्याममाया मगर, पहलमान मोक्तान र नुरुल अन्सारीको घर भत्किएको हो ।

हात्तीले घर भत्काएर अन्नपात नष्ट गर्नुका साथै घरमा भएको भाँडाकुँडासमेत कुच्याएको पीडित पहलमान मोक्तानले गुनासो गर्नुभयो । एक महिनादेखि सर्लाहीको जंगलमा बस्दै आएको हात्तीले लालबन्दी–१५ परवानीपुरमा दुईवटा घरसमेत भत्काएको र तीन दिनअघि मात्र हरिवनको गमडिकुनामा रहेको भैरवबहादुर सिंहको घर पनि भत्काएको जिल्ला वन कार्यालय सर्लाहीले जनाएका छ ।हात्तीले घर भत्काएपछि दैनिक ज्यालादारी गरेर खाने परिवारको बिजोग भएको छ । पीडित पहलमान मोक्तान भन्नुहुन्छ– ‘‘हात्तीले घर भत्काएर अन्नपात सबै खाइदियो, बस्न घर पनि छैन, खान अन्न केही छैन । ज्यला गर्न जाउँ भने काम बन्द छ, अब त खान नपाएर मरिने भयौं ।’जंगली हात्तीले अहिलेसम्म सर्लाहीमा १५ लाखभन्दा बढी क्षति पु¥याएको छ । दिनभरि बागवानी केन्द्रनजिक जंगलमा बस्दै आएको हात्ती रात परेपछि गाउँ छिरेर दुखः दिने गरेको स्थानीयले बताएका छन् ।

हात्तीले अहिलेसम्म ठूलो क्षति नपु-याए पनि लगातार स्थानीयलाई दुखः दिने र घर भत्काउने गरेको जिल्ला वन कार्यालय सर्लाही प्रमुख माधवप्रसाद देवले बताउनुभयो ।‘एक महिनादेखि जंगली हात्ती देखिएको छ, वयश्क तीनवटै हात्ती प्रायः एउटै समूहमा हिँड्छन्, अहिलेसम्म मानवीय क्षति नगरे पनि कच्ची केही घर भत्काएको र बालीनाली खाएको जानकारी हामीकहाँ आएको छ, क्षतिको यकिन मूल्यांकन गर्ने काम भइरहेको छ’, उहाँ भन्नुहुन्छ– ‘नियमअनुसार पीडितलाई राहतको व्यवस्था हुन्छ । तर, अहिलेसम्म हात्तीले धेरै घर ऐलानी र सार्वजनिक जग्गामा बनेका घर भत्काएको छ, उहाँहरूको हकमा कानुनले क्षतिपूर्ति दिने व्यवस्था गरेको छैन ।’हात्तीलाई गाउँबाट धपाउन स्थानीयले टिन बजाउने, आगो बाल्ने, भरुवा बन्दुक पड्काउने र लखेट्ने गरेका कारण हात्तीले गन्तव्य लिन नसकेको देवको भनाइ छ ।