एमरेड परियोजनाद्वारा अस्पतालहरुलाई सामाग्री प्रदान

1.1k
Shares

राम धामी, डडेल्धुरा ।

मर्सिकोर नेपालको सहयोगमा कार्यान्वयन भईरहेको आर्थिक विकास मार्फत विपद् जोखिम न्युनीकरण (एमरेड) परियोजना दोस्रो चरण मार्फत यँहाका अस्पतालहरुलाई स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण गरिएको छ । आईतबार सुदूरपश्चिम प्रदेश सभाका साँसद कर्णबहादुर मल्लको उपस्थितिमा एमरेड परियोजनाको साझेदार गैर सरकारी संस्था एकीकृत विकास समाज डडेल्धुराले डडेल्धुरा अस्पताललाई सामाग्री हस्तान्त्ररण गरेको हो ।

डडेल्धुरा अस्पताललाई प्रशोधित शुद्ध खानेपानी एक हजार सात सय बोत्तल, एक सय थान सुपानेट झुल, छ हजार थान सर्जिकल मास्क, तीन सय थान ५०० मिलिलिटर सेनीटाईजर हस्तान्त्ररण गरिएको एकीकृत विकास समाज डडेल्धुराका अध्यक्ष कमला बिष्टले जानकारी दिनुभयो । डडेल्धुरा अस्पतालको माग अनुसार पीपीई सेट र अक्सिजन सिलिण्डर प्रदान गरिने एमरेड परियोजनाले जनाएको छ । सो परियोजनामार्फत डडेल्धुराको जोगबुडा अस्पताललाई ४० थान पिपीई सेट, तीन सय थान ५०० मिलिलिटर सेनीटाईजर, एक सय ५० थान सुपानेट झुल, पाँच हजार थान सर्जिकल मास्क र प्रशोधित शुद्ध खानेपानी एक हजार सात सय बोत्तल हस्तान्तरण गरिएको परियोजना संयोजक गणेशबहादुर मगरले बताउनुभयो ।

यसैगरि आलिताल गाउँपालिकालाई ३५ थान पिपीई सेट, तीन सय थान ५०० मिलिलिटर सेनीटाईजर, एक सय ५० थान सुपानेट झुल, पाँच हजार थान सर्जिकल मास्क र प्रशोधित शुद्ध खानेपानी एक हजार सात सय बोत्तल हस्तान्तरण गरिएको परियोजनाले जनाएको छ । आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले गाँउपालिकाको माग अनुसारका स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा परियोजनालाई धन्यवाद दिनुभयो । उँहाले कोरोना महामारी संक्रमण न्युनीकरणका लागि परिक्षणको दायरा बढाउने आवश्यक भएकाले एन्टीजेन किट उपलब्ध गराउन परियोजनासँग माग गर्नुभयो ।

परियोजनामार्फत बैतडी जिल्ला अस्पताललाई ३५ थान पिपीई सेट, तीन सय थान ५०० मिलिलिटर सेनीटाईजर, एक सय ५० थान सुपानेट झुल, छ हजार थान सर्जिकल मास्क र प्रशोधित शुद्ध खानेपानी एक हजार नौ सय बोत्तल आईतबारनै हस्तान्त्रण गरिएको छ । यसैगरि गकुलेश्वर अस्पताल दार्चुलालाई दुई सय ५० थान ५०० मिलिलिटर सेनीटाईजर, एक सय थान सुपानेट झुल, पाँच हजार पाँच सय थान सर्जिकल मास्क र प्रशोधित शुद्ध खानेपानी एक हजार दुई सय बोत्तल हस्तान्तरण गरिने एमरेड परियोजनाका जिल्ला संयोजक गणेश भट्टले जानकारी दिनुभयो ।

स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्दै प्रदेश सभाका साँसद मल्लले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका अस्पतालहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेकोमा परियोजनालाई धन्यवाद दिदैं अक्सिजन सिसिलण्डर, एन्टीजोन किट लगायतका सामाग्रीहरु निकै आवश्यक भएकाले यँहाका अस्पतालहरुलाई उपलब्ध गराउनका लागि परियोजनासँग आग्रह गर्नुभयो । अक्सिजन आपुर्ती अझै सहज बन्न नसकेको अबस्थामा अक्सिजन सिलिण्डर उपलब्ध गराएर महामारी संक्रमितहरुको ज्यान जोगाउन एमरेड परियोजनाले आवश्यक सहयोग गर्ने साँसद मल्लले विश्वास ब्यक्त गर्नुभयो ।