७६ प्रतिशत आवास, ९० प्रतिशत विद्यालय पुनर्निर्माण, ६० हजार १०२ ले लिए तेश्रो किस्ता

5.1k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

भुकम्पले ध्वस्त बनाएका ७८ हजार ९ सय ५ घर धुरी मध्ये ६० हजार १ सय २ परिवारले तेश्रो किस्ता बापतको रकम प्राप्त गरेका छन् । दोश्रो किस्ता लिनेहरुको संख्या ६६ हजार ८ सय ८ रहेको छ । ७९ हजार २ सय ८८ घर परिवारले पहिलो किस्ता लिएका थिए । पहिलो किस्ता लिनेहरु मध्ये ४ हजार २ सय ७३ घर परिवारले रेट्रोफिटिङ्गका लागि सम्झौता गरी रकम लिएका थिए भने ७५ हजार १५ घर परिवारले पुनर्निर्माणको लागि रकम लिएका थिए । घर पुनर्निमाणमा समावेश गरी पाउँ भनि ९८ हजार १९ जनाले पुनर्निर्माण प्राधिकरणमा आवेदन दिएका थिए ।

२०७८ वैशाख मसान्त भित्र निर्माण सम्पन्न भएका घरहरुको अन्तिम किस्ताका लागि वडा कार्यालयमा निवेदन गरिसकेका पीडितहरुको भुक्तानी भईरहेको छ । निषेधाज्ञाका कारण निर्माण सम्पन्न भएका केहि घरहरुको रकम भुक्तानीका लागि वडा मार्फत सिफारिस हुन सकेको छैन । रोशीका केहि वडामा खटिएका प्राधिकरणका इन्जिनियरुहरुले नागरिकलाई दुख दिने गरेको गुनासो सुनिन थालेको छ । चैत्र मसान्तसम्म ५७ हजार ५ सय ९५ जनाले तेश्रो किस्ता भुक्तानी लिएका थिए ।

 

बैशाख एक महिनामा प्राधिकरणले २ हजार ५ सय ७ जनालाई रकम भुक्तानी गरेको छ । अझै केहि सय भुक्तानीका लागि बाँकी रहेको छ । इन्जिनियरहरुको भेरिफाई पछिको वडाको सिफारिसका आधारमा थप भुक्तानी हुनेछ । स्थानीय सरकारको सेवा लामो समय देखि बन्द रहेकाले यो अवधीको समय थप्ने कि के गर्ने ? भन्ने निक्र्याैल भईसकेको छैन । पुनर्निर्माणको हिसावले जिल्लमा ७६.१७ प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको छ । ७८.९० प्रतिशत दोश्रो किस्ता र ९३.५८ प्रतिशत पहिलो किस्ता लिएका घरधुरीहरुको औसत प्रतिशत तुलनात्मक रुपमा राम्रो रहेको विज्ञहरुले बताएका छन् । भुकम्प गएको ५ वर्षसम्म पुनर्निर्माण आवश्यक नठान्ने लाभग्राहिहरुको नामावली हटाउँदै पुनर्निर्माणको कार्य सम्पन्न गर्ने अभियानमा प्राधिकरण पुगेको छ । जिल्लाको हकमा आवाससँगै क्षति भएका सडक र पुल पनि निर्माण भएका छन् ।

जिल्लामा १३ वटा स्थानीय तह छन् । धुलिखेल, बनेपा, पाँचखाल, पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका रुपमा छन् भने तेमाल, चौरीदेउराली, भुम्लु, रोशी, बेथानचोक, महाभारत र खानीखोला गाउँपालिका छन् । विद्यालय तथा आवास निर्माणमा विकटता र सुगमताका आधारमा पनि निर्माणको कार्य अघि बढ्यो । विद्यालय पुनर्निमार्णमा दाताहरुका कारण सुगममा पनि निर्माणको कार्य ढिलाई हुन पुग्यो । भुकम्प पछिको निर्माणमा समुदाय पनि सक्रिय भएको छ । विद्यालय निर्माणमा विद्यालय ब्यवस्थापन समितिहरु मार्फत १ सय ९८ वटा विद्यालय भवन निर्माण भएको छ । एडिवीको ऋण र नेपाल सरकारको सहयोगमा ठेक्का प्रकियाबाट ३८ वटा विद्यालय भवन पुनर्निर्माण भएका छन् । विभिन्न गैरसरकारी संस्थाबाट ८९ वटा विद्यालय भवन पुनर्निर्माण भए । जसमा १ हजार ९ सय २३ वटा कक्षा कोठा पुनर्निर्माण भएका छन् ।

विद्यालय ब्यवस्थापन समिति मार्फत जिल्लामा २३ वटा शौचालय निर्माण गरिएको छ । भुकम्पले क्षती भएका सवै विद्यालयहरुमा आवश्यकताका आधारमा कुनै न कुनै कार्यक्रम पुगेको जिल्ला परियोजना इकाई (शिक्षा) ले जानकारी दिएको छ । इन्जिनियर श्रेया झाका अनुसार जिल्लाका अधिकांश विद्यालयहरु पुनर्निर्माणबाट लाभान्वित भएका छन् । विद्यालय ब्यवस्थापन समितिबाट निर्माण शुरु भएका थप ७१ वटा विद्यालय भवन, एडिवीको ऋण र नेपाल सरकारको सहयोगमा ठेक्का प्रकियाबाट निर्माण हुने ९ वटा विद्यालय भवन, भारतीय सरकारको अनुदान सहयोगमा निर्माण हुने १२ वटा विद्यालय भवन निर्माणाधिन अवस्थामा छन् । ८ वटा विद्यालयमा एडिवीको ऋण र नेपाल सरकारको सहयोगमा डिआरएसपी कार्यक्रम अन्तर्गत रेट्रोफिट कार्यक्रम सञ्चालनमा रहेको इन्जिनियर झाले बताउनु भयो ।

जिल्लाका १ सय २१ वटा विद्यालयमा विद्यालय ब्यवस्थापन समिति मार्फत शौचालय निर्माणको कार्य भईरहेको छ । ८८ वटा विद्यालयमा खानेपानी सुबिधाका लागि संरचना निर्माण भईरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि ५ वर्षबाट हाल एक वर्ष थप भइ आगामी पौषसम्म रहेको छ । ५ वर्षको अन्तरालमा विद्यालय पुनर्निर्माणको करिव ९० प्रतिशत कार्य सम्पन्न भैसकेको छ । बाँकी १०% प्रतिशतको काम पूर्ण रुपमा सम्पन्न गर्न अझै १ वर्ष समय लाग्ने सम्भावना छ ।