अप्ठ्यारो झेलेर होम आइसोलेसनमा नबस्न आग्रह


ललितपुर, (नेस)

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले व्यावहारिक कठिनाइ झेलेर ‘होम आइसोलेसन’मा बस्नु स्वस्थकर नहुने बताउँदै कोरोना संक्रमितलाई महानगरले सञ्चालन गरेको आइसोलेसनमा बसी स्वास्थ्यलाभ गर्न आग्रह गर्नुभएको छ ।

उहाँले विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ– ‘स्वास्थ्य मापदण्ड पूरा गरेर स्वास्थ्य स्थितिको गम्भीर निगरानी गरी होम आइसोलेसनमा बस्नु राम्रो हो, व्यावहारिक कठिनाइ हुँदाहुँदै व्यवस्थापनमा अप्ठ्यारो झेलेर होम आइसोलेसनमा बस्नु संक्रमित स्वयम, परिवार र समुदायका लगि समेत स्वस्थकर हुँदैन ।’कोभिडको दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा संक्रमितलाई लक्षित गरेर ललितपुर महानगरले दुईवटा आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । महानगरले वडा नं २६ सुनाकोठीस्थित नेपाल युथ फाउन्डेसनको पोषण पुनःस्थापना गृहमा एचडीयूसहितको ५० श्ययाको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ ।

त्यसैगरी, वडा नं ४ स्थित बागडोलमा रहेको ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा सञ्चालन गरिएको एक सय १० श्ययाको आइसोलेन सेन्टरमा पनि एचडीयूलगायत अन्य स्वास्थ्य सुविधा थप गर्ने महानगरले तयारी गरेको विज्ञप्तिमा उल्लेख छ ।अक्सिजनसहितको यी आइसोलेसन सेन्टरहरूमा मनोसमाजिक परामर्शको समेत व्यवस्था छ । पोषणविद्को सल्लाहअनुसार आइसोलेसन सेन्टरमा पौष्टिक र सन्तुलित खाजा र खानाको पनि निःशुल्क व्यवस्था रहेको जनाइएको छ । महानगरले संकलन गरेको तथ्यांकअनुसार संक्रमितमध्ये धेरैजसो ‘होम आइसोलेसन’मा रहेका विज्ञप्तिमा उल्लेख छ ।