लाङटाङ जलविद्युत् आयोजना निर्माण शुरू

812
Shares

रसुवा, नेस

जिल्लाको गोसाईकुण्ड गाउँपालिका–५ मा २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना निर्माण शुरू भएको छ । लाङटाङ खोला जलविद्युत आयोजनाका सहायक योजना प्रमुख नारायणप्रसाद सुवेदीका अनुसार करिब चार अर्ब रूपियाँको लागतमा २०८० साल असार मसान्तसम्ममा निर्माण सम्पन्न हुने गरी निर्माण कार्य शुरू भएको हो ।

आयोजनाको वार्षिक अनुमानि आम्दानी प्रथम वर्षमा ७६ करोड रहेको र वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म बढ्दै गएर वार्षिक आम्दानी ९२ करोडसम्म हुने बताइएको छ । आयोजनाले दोमने क्षेत्रबाट लाङटाङ खोलाको पानी बाँधबाट करिब ३ किलोमिटर लामो हेडरेस टनेल हुँदै स्याफ्रुबेंसीमा रहेको पावर हाउसबाट विद्युत् उत्पादन हुनेछ । बाँध, डिसेल्टिङ बेसिन, हेडरेस टनेल, प्रेसर टनेल र पावर हाउस मुख्य संरचना हुनेछन् ।

आयोजना शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकाल, गोसाईकुन्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ, लाङटाङ राष्ट्रिय निकुञ्ज का प्रमुख सुश्मा राना, जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डे, राष्ट्रिय अनुसन्धान अधिकृत सविन श्रेष्ठ, सशस्त्र प्रहरी प्रमुख लव सापकोटालगायतको उपस्थित रहेको थियो ।