हेटौंडा अस्पतालमा अक्सिजनका लागि ९ लाख



हेटौंडा, नेस।

ग्रामीण असहाय बालबालिका सामुदायिक पुनस्र्थापना केन्द्रले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् हेटौंडा अस्पताललाई अक्सिजन खरिदका लागि ९ लाख रुपियाँ सहयोग गरेको छ ।

अस्पतालपरिसर पुगेर केन्द्रले एक महिनासम्म दैनिक ५० सिलिण्डर खरिद गर्ने गरी ९ लाख रुपियाँ सहयोग गरेको हो । केन्द्र अध्यक्ष सुमित्रा काफ्लेले अस्पताल सञ्चालन तथा व्यबस्थापन समिति अध्यक्ष राजेश प्रसाईलाई रकम हस्तान्तरण गर्नुभयो ।काफ्लेले विषम् परिस्थितिमा सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताउनुभयो ।

कोरोनाा संक्रमणले देशलाई समस्या परेको समयमा संस्थाले सहयोग गरेको भन्दै उहाँले सबै कुरामा सरकारमा मात्र भर पर्न नहुने र नागरिक तथा सबै सामजिक संघसंस्थाको पनि दायित्व हुनुपर्ने बताउनुभयो । राज्यका सबै संयन्त्र मिलेमात्र कोरोना संक्रमण पराजित गर्न सकिने भन्दै उहाँले सबै संघसंस्थालाई सहयोगका लागि अनुरोध गर्नुभयो ।

प्रतिष्ठानका रजिष्टार प्रसाईंले केन्द्रको सहयोग हालसम्मकै ठूलो सहयोग रहेको बताउनुभयो । मकवानपुरे आमनागरिकले हेटौंडा अस्पताललाई सहयोग गरिरहेको भन्दै उहाँले सहयोगी हातकै कारण अस्पतालमा अक्सिजन अभाव हालसम्म नभएको बताउनुभयो ।दैनिकरुपमा विभिन्न संघसंस्थाका तर्फबाट सहयोग आउने क्रम रहेको जानकारी दिँदै उहाँले अस्पतालमा रहेका बिरामीका लागि दैनिक २ सय ४० सिलिण्डर अक्सिजन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्