तीन दिन भारी वर्षा र बाढी–पहिरोको सम्भावना ,सावधानी अपनाउन गृहकाे अनुरोध


युज अफ नेपाल काठमाडौं ।

यास चक्रवातको आंशिक प्रभावका कारण नेपालको मौसम प्रभावित भएको र अबको तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइ बाढी–पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहिबारदेखि शनिबारसम्ममा देशमा धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेकाले बाढी तथा पहिरो जान सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात यास समुद्रबाट जमिन तर्फ प्रवेश गरेको र उक्त चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा छ । त्यसले केही दिन नेपालको मौसममा असर पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन हुन प्राधिकरणका प्रवक्ता लिलाधर अधिकारीले आग्रह गरेका हुन् ।

सर्वसाधारण एवम् विपद व्यवस्थापनमा खट्ने सबैलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आँकलन गरि सुरक्षाकर्मी एवम् पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ । नदी, खोला किनार एवम् पहिरो आसपास बसोबास गर्ने बासिन्दा सतर्क अवस्थामा रहनुपर्ने प्राधिकरणले जनाएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि शनिबारसम्म गते प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशको तराईमा अति भारी वर्षा, चट्याङ्ग पर्ने र उच्च बेगको हावाहुरी आउने सम्भावना रहेको विभागले जनाएको छ ।