अक्सिजन खरिद गर्न मन्त्री आलेको एक लाख सहयोग

574
Shares

विमल विष्ट, डोटी ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरिद गर्नका लागि आफ्नो व्यक्तिगत तर्फबाट रु एक लाख सहयोग गर्नु भएको छ । अक्सिजन नपाउदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि मन्त्री आलेले अस्पताललाई आफ्नो तर्फबाट रु एकलाख उपलब्ध गराउनु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । अक्सिजन नहुँदा बिरामीलाई समस्या भएको जानकारी पाएपछि मन्त्रीज्यूले अक्सिजन खरिदका लागि रु एक लाख प्रदान गर्नु भएपछि अछामवासीहरु खुशी भएका अछामका स्थानीयवासी शिद्ध ढुङ्गानाले जानकारी दिनुभयो ।

अछाममा अक्सिजन अभाव भएका कारण त्यहाँका नागरिकले अक्सिजन किन्नका लागि अभियान समेत सञ्चालन गरेका थिए । अक्सिजन नभएकै कारण जिल्लामा कयौँ कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाएका थिए । वन तथा वातावरणमन्त्री ज्यूले अस्पतालका लागि अक्सिजन खरिद गर्न रकम प्रदान गर्नु भएपछि यहाँका कोरोना सङ्क्रमितको उपचारमा निकै राहत पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डा अतुल भारद्वाजले बताउनुभयो । उनले भन्नुभयो, “अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा निकै समस्या भएको थियो, मन्त्रीज्यूले अक्सिजन किन्न व्यक्तिगत रुपमा रकम उपलब्ध गराउनु भएपछि अब सहज हुँने छ ।”