पर्सामा चौथो पटक निषेधाज्ञा लम्बियो

784
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सा जिल्लामा बैशाख १६ गते देखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ ।आज अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीको बैठकले जेठ १३ गते बिहीबार सम्मका लागि लगाइएको निषेधाज्ञा जेठ २० गते सम्मका लागि थप्ने निर्णय गरेको हो । पर्सा जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा, संक्रमणको चेनब्रेक गर्न उपयोगी देखिएकाले जेठ २० गते मध्यराति १२ बजे सम्मका लागि थप्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।

दोश्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि पर्सा जिल्लामा बैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा पहिलो पटक बैशाख बैशाख २३ गतेबाट पुनः थप गरी बैशाख ३० गतेसम्मका लागि लम्ब्याइएको थियो । त्यसपछि दोश्रो पटक बैशाख ३० गतेबाट जेठ ६ गते सम्मका लागि र तेश्रो पटक थप गरी जेठ १३ गते बिहीबार सम्मका लागि निषेधाज्ञा थपिएको थियो । निषेधाज्ञा लगाइए यता जिल्लामा संक्रमण दर घटदै गएकाले आज डिसिसिएमसीको बैठक बसेर थप एक साता अर्थात जेठ २० गते सम्मका लागि थप्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

नागरिकता बितरण गरिएको छैन ः प्रशासन

जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भन्ने हल्ला निराधार रहेको जनाएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निषेधाज्ञा शुरु भए यता जिल्ला प्रशासन कार्यालय पर्साबाट एउटा पनि नागरिकता वितरण नभएको बताउनु भउको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नाम जोडेर हालै समाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएरा भएका पोष्ट र आएका समाचारहरु प्रति जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तीमा उल्लेख छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणको बढ्दो अवस्थालाई नियन्त्रण, रोकथाम र संक्रमणको श्रृंखला तोड्न पर्सा जिल्लामा बैशाख १६ गते देखि नै जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको भन्दै पौडेलले निषेधाज्ञा जारी भएको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट शान्ति सुरक्षा र कोभिड नियन्त्रणसंग सम्बन्धित अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल बन्द रहेको बताउनु भएको छ ।

निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी सामाजिक सञ्जालमा भाइरल बनाईएको भिडियो फुटेज पुरानो रहेको पनि जिल्ला प्रशासन कार्यालय पर्साले विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।सामाजिक सञ्जालमा भएका पोष्ट एंव आएका समाचारहरु आधारहीन, असत्य र कपोल कल्पित रहेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले अहिले स्थानीय प्रशासनको प्रयास कोभिड–१९ संक्रमणको नियन्त्रण रोकथाम र उपचार व्यवस्थापनमा मात्रै केन्द्रित रहेको विज्ञप्ती मार्फत जानकारी दिन्ुएको छ ।