शेयरमा बैंक तथा वित्तीय संस्थाको लगानीमाथि कडाइ

लघुवित्तको शेयर किन्न रोक, शेयर किनेको एक वर्षसम्म बेच्न नपाइने



नेपाल समाचारपत्र, काठमाडौं

बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका जारी गर्दै धितोपत्र कारोबारमा लगानी गर्न कडाइ गरेको हो ।केन्द्रीय बैंकको निर्देशिका अनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्त कम्पनीको शेयर खरिद गर्न नपाउने भएका छन् । लघुवित्त कम्पनीहरूको शेयर मूल्य बढाउन अस्वभाविक गतिविधि भएको संकेत गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई रोक लगाएको हो । यसअघि खरिद गरिसकेको भए आगामी पुस मसान्तसम्म बिक्री गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशिकामा भनिएको छ–‘विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन । २०७८-०२-१० गतेसम्म त्यस्तो शेयर खरिद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री÷विनिवेश गरिसक्नुपर्नेछ ।’

मौद्रिक नीतिको तेस्रो समीक्षामा समेटिएका विषयलाई कार्यान्वयन गर्न ल्याइएको एकीकृत निर्देशिकामा बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर खरिद गरेर एक वर्षभन्दा बिक्री गर्न पाउने छैनन् । सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा कम अवधिको लागि लगानी नपाइने परिपत्रमा उल्लेख गरेको छ । त्यस्तै एक आर्थिक वर्षमा प्राथमिक पुँजीको एक प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउने छन् । तर, २०७८-०२-१० गतेसम्म लगानी गरेको शेयर २०७९ असार मसान्तसम्म बिक्री गर्न नयाँ व्यवस्थाले बाधा पु-याउने छैन । शेयर बजारको स्थायित्वका लागि बैंक तथा वित्तीय संस्थाले दीर्घकालीन लगानी गर्नुपर्ने भन्दै सरोकारवालाले जोड दिँदै आएका थिए ।यता केन्द्रीय बैंकले निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत् संकलन गरिएको मुद्दति निक्षेपको ब्याजदर एकपटक प्रकाशित भएपछि तीन महिनासम्म परिवर्तन गर्न पाइने छैन । केन्द्रीय बंैकको निर्देशकामा बैंक तथा वित्तीय संस्थालाई मर्जरको सुविधालाई एक वर्ष बढाएको छ । यसअघि २०७८ असारसम्म रहेको सो सुविधा २०७९ असारसम्म उपयोग गर्न पाउने छन् ।

नेप्सेमा सामान्य गिरावट

साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा सामान्य घटेको छ । यस दिन नेप्से परिसूचक ६ दशमलव ४७ अंकले घटेर २८१६ दशमलव ६० बिन्दुमा झरेको छ ।कुल २१८ वटा कम्पनीको २ करोड ३४ लाख ६५ हजार कित्ता शेयर ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार रुपियाँमा किनबेच भएको छ । मंगलबार कारोबार भएका १३ वटा समूहको सूचकमध्ये ६ वटा समूहको सूचक सकारात्मक देखिए भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक देखिएका छन् । मंगलबार हाइड्रोपावर कम्पनीहरूको शेयर मूल्य बढ्दा उक्त समूहको सूचक २ दशमलव २९ प्रतिशतले बढेको छ भने जीवन बीमा र निजीवन बीमा समूहको सूचक पनि क्रमशः २।३८ प्रतिशत र १।७६ प्रतिशतले बढेको छ।

मंगलबार अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै ३३ करोड ८३ लाख रुपियाँको शेयर किनबेच भएको छ । त्यस्तै एसियन लाइफ इन्स्योरेन्सको ३३ करोड ७ लाख, जलविद्युत् लगानी तथा विकास कम्पनीको ३० करोड ३४ लाख, सूर्या लाइफ इन्स्योरेन्सको २९ करोड १७ लाख र नेसनल लाइफ इन्स्योरेन्सको २७ करोड ८५ लाख रुपियाँको शेयर कारोबार भएको छ । यस दिन चार वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये बरुण हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ९५ प्रतिशतले बढेको छ भने माउन्टेन हाइड्रोको ९ दशमलव ८६ प्रतिशत, युनिभर्सल पावरको ९ दशमलव ८४ प्रतिशत र घलेम्दी हाइड्रोको ९ दशमलव ७८ प्रतिशतले बढेको छ । त्यस्तै मल्टिपर्पस फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, सेञ्चुरी कमर्सियल बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंकलगायतका कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्