एट्लेटिको मेड्रिड ला लिगा च्याम्पियन


लन्डन, (एजेन्सी)

एट्लेटिको मेड्रिड स्पेनिस ला लिगाअन्तर्गत सिजन २०२०–२१ को च्याम्पियन बनेको छ ।ला लिगा अन्तर्गत शनिबार राति भएको सिजनको अन्तिम खेलमा रियल भाल्लाडोलिडलाई हराउँदै डिएगो सिमोनीको टोली घरेलु लिग च्याम्पियन बनेको हो ।

अवे मैदानमा एक गोलले पछि परेको स्थितिलाई उल्टाएर एट्लेटिकोले २–१ गोलअन्तरको पुनरागमन जित निकाल्दै उपाधि उचाल्न सफल भयो । एट्लेटिकोलाई उपाधि जिताउन विजयी गोल उरुग्वेली फरवार्ड लुइस स्वारेजले गरेका थिए । यसअघि लिगको ३७औं साताको खेलमा टिम हार नजिक पुगेका बेला पनि स्वारेजले नै विजयी गोल गरेर टिमलाई उपाधि होडमा कायमै राखेका थिए ।लिगको अन्तिम ३८औं साताको खेलमा एट्लेटिकोलाई आफ्नो नतिजाले उपाधि जित्न स्पष्ट जित नै आवश्यक थियो, जसमा एट्लेटिको सफल पनि भयो । उपाधि दौडमा नै रहेको रियल मेड्रिडले पनि शनिबार भएको आफ्नो अन्तिम खेलमा भिल्लारियलविरुद्ध कमब्याक जित निकाले पनि एट्लेटिकोले दुई अंकको अग्रतासहित उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । रियल मेड्रिड भिया रियलसँग पराजित भएको अवस्थामा एट्लेटिकोलाई आफ्नो खेलमा हारे पनि उपाधि जित्न पर्याप्त हुने समीकरण बनेको थियो । तर, रियलले आफ्नो खेल जित्ने स्थितिमा भने एट्लेटिकोलाई पनि उपाधिका लागि अनिवार्य जित नै आवश्यक पर्ने थियो । तर, अन्तिम खेलमा एट्लेटिकोले आफ्नो खेल जित्यो भने रियल मेड्रिडले आफ्नो खेल जितेर पनि उपाधिका लागि कुनै अर्थ रहेन ।

एट्लेटिकोविरुद्ध घरेलु टोली भाल्लाडोलिडका लागि खेलको १८औं मिनेटमा ओस्कार प्लानोले गोल गरेर लिग लिडरलाई ठूलो झट्का दिएका थिए । भिल्लाडोलिडले सो अग्रता ५६औं मिनेटसम्म बचायो । तर, त्यसपछि १० मिनेटको बीचमा एट्लेटिकोले दुई गोल गरेर खेल नै जित्यो । खेलको ५७औं मिनेटमा एन्जल कोरेरियाले गोल गर्दै खेल १–१ बनाए भने ६७औं मिनेटमा स्वारेजले गोल गरेपछि एट्लेटिकोले सोही अग्रता बचाएर खेल २–१ ले जित्दै उपाधि पनि जित्यो । एट्लेटिकोले सिजन सकिँदा ३८ खेलबाट कुल ८६ अंक जोडेर च्याम्पियन बन्यो भने दोस्रो स्थानको रियल मेड्रिडको ८४ अंक भयो । तेस्रो स्थानको बार्सिलोनाको खातामा ७९ अंक छ ।एट्लेटिकोले रियललाई दुई अंक र बार्सिलोनालाई सात अंकले पछि पारेर उपाधि जित्न सफल भयो । यससँगै एट्लेटिको सात वर्षपछि पहिलोपटक लिग च्याम्पियन बनेको छ । एट्लेटिकोले अन्तिमपटक सिजन २०१३–१४ मा ला लिगाको उपाधि जितेयता पुनः लिग च्याम्पियन बन्न सकेको थिएन । एट्लेटिकोले जितेको यो उपाधि समग्रमा ११औं उपाधि हो । त्यसैगरी, प्रशिक्षक डिएगो सिमोनीको नेतृत्वमा दोस्रो हो । सन् २०१४ मा एट्लेटिकोले ला लिगा जित्दा पनि सिमोनी नै टोलीका प्रशिक्षक थिए । यसपटक उनले निकै मेहनतका साथ आफ्नो नेतृत्वमा टिमलाई दोस्रो पटक लिग च्याम्पियन बनाउन सफल भए ।

शनिबार राति नै भएको स्पेनिस ला लिगाको अर्को खेलमा रियल मेड्रिडले उत्कृष्ट कमब्याक जित निकालेको थियो । रियलले घरेलु मैदानमा पाहुना टोली भिया रियलमाथि २–१ को जित निकाल्यो । भिया रियलले खेलको २०औं मिनेटमै गोल गरेर अग्रता लिएको थियो । रियलका डिफेन्डरले बल क्लियर गर्न नसक्दा एरेमी पिनोले सो गोल गरेका थिए । सो गोलपछि रियललाई खेलमा फर्किन खेलको अन्तिमसम्म नै लड्नु परेको थियो । रियल हारको नजिक पुगे पनि खेलको अन्तिम ६ मिनेटभित्र दुई गोल गरेर खेल नै जित्यो ।
रियलका लागि खेलको ८७औं मिनेटमा करिम बेन्जेमाले गोल गरेर खेल १–१ बनाएका थिए । त्यसपछि, इन्ज्युरी समयको दोस्रो मिनेटमा लुका मोड्रिचले गोल गरेपछि खेल रियलले २–१ ले जित्यो । रियलले कठिन अवस्थाबाट सिजनको अन्तिम खेल जिते पनि उपाधि भने जित्न सकेन । लिगको अन्तिम खेलमा एट्लेटिकोले अंक नगुमाउँदा रियल उपविजेता बन्दै ला लिगाको सिजन पूरा गर्न बाध्य भयो । रियलले यस सिजन ३८ खेलबाट ८४ अंक जोडेर दोस्रो स्थानमा रहँदै सिजन सकाउँदा च्याम्पियन एट्लेटिकोभन्दा मात्रै दुई अंकले पछि प¥यो । अर्कोतिर रियलले तेस्रो स्थानमा रहेको बार्सिलोनालाई भने यसपटक पाँच अंकले पछि छाड्यो । बार्सिलोना सन् २००७ पछि पहिलोपटक लिगको तेस्रो स्थानमा रहेको हो ।

बार्सिलोनाले पनि स्पेनिस ला लिगा फुटबलको सिजन २०२०–२१ को अन्तिम खेलमा कठिन जित निकाल्दै सिजन पूरा ग¥यो । लिगको ३८औं साताको खेलमा बार्सिलोनाले अवे मैदानमा सबैभन्दा पुछारमा रहेको एइबारलाई १–० को साँघुरो गोलअन्तरले हरायो । अवे मैदानमा निकै फितलो प्रदर्शन गरेको बार्सिलोनाका लागि खेलको ८१औं मिनेटमा फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यानले गोल गरेका थिए । यो जितपछि बार्सिलोनाले यो सिजन तेस्रो स्थानमा रहेर सिजन पूरा ग¥यो । बार्सिलोनाले कुल ७९ अंक जोडेको छ ।