धूलो–धुवाँ नेपालको स्थायी समस्या हुने भो



सुन्दर र मनोरम प्रकृति अनि विभिन्न कालखण्डका विशिष्ट मानव सभ्यता र संस्कृतिको धनी नेपालको पहिचान आफैंमा एउटा विशिष्ट उदाहरण थियो र अझै छ । दुर्भाग्य, त्यही मुलुकको पहिचान आज धुवाँ, धूलो र फोहोरले छोपेको छ, कलुषित भएको छ । सबैले दिनदिनै भोग्दै आएका छन् । यी समस्या अरू मुलुकमा पनि छन् ।

धूलो नेपालको पुरानै समस्या हो । केही वर्षदेखि यो अनियन्त्रितरूपमा बढ्यो । अहिले त हाम्रो खुराकै बनेको छ । पूरै वातावरण धूलोले आक्रान्त छ । जहाँ वायु छिर्छ, त्यहाँ धूलो छिर्छ । घर, कार्यालयका बन्द कोठा, कुना अनि बन्द दराजभित्र पनि धूलो छिरेकै हुन्छ । यो समस्या सवारी आवागमन हुने सडकछेउमा मात्र होइन जताततै छ, धेरै थोरै मात्र हो । बजारतिर पसल भएकाहरूले धूलोबाट केही त्राण पाउन आफ्नो अघिल्तिर बेलाबेला पानी छर्कने गर्छन् ।यो कार्यलाई सम्बन्धित निकाय र बासिन्दा, व्यापारी मिलेर व्यवस्थित र नियमित गर्न सकिन्छ । धेरै धूलो उड्ने व्यस्त सडकमा पानी ट्यांकर प्रयोग गर्न सकिन्छ । चीनमा मिस्ट क्यानोन अर्थात् पानीको कणको फोहरा प्रयोग गर्छन् । यसले पानीलाई अति मसिनो गरी २०० फिट माथिसम्म छरेर हावामा भएका धूलोलाई झार्छ । धुले सडकमा गाडी र मोटरसाइकलको गति नियन्त्रण गर्नुपर्छ । तिनले गाडी कुदाएर धुलाम्मे बनाउँछन् ।केही वर्षदेखि भइरहेको सडक चौडा गर्ने कार्यले त अचाक्ली नै गरेको छ । यसो भनेर सडक चौडा गर्ने कार्यको विरोध गरेको होइन । तर सरकारको अव्यवस्थित र संवेदनहीन क्रियाकलापले मानिस र जीवजन्तुको ज्यान लिइरहेको छ । नागरिकको सम्पत्तिमा संविधान र कानुनको बेवास्ता गरी उचित क्षतिपूर्तिबेगर गुण्डागर्दी शैलीमा बलजफ्ती अतिक्रमण भएकोले धेरै ठाउँमा सुरु गरेका कार्य अधुरा रहेका छन्, खण्डखण्डमा काम भइरहेका छन्, अनि हतपत नटुंगिने गरी अल्झिएका छन् ।

यसले गर्दा ती ठाउँहरूमा बसोबास गर्ने र आवतजावत गर्नेहरू वर्षौंदेखि धूलोको मारमा छन् । विवाद नभएका ठाउँमा पनि समयमा काम सम्पन्न नहुँदा समस्या उही छ । सरसर्ती हेर्दा अन्यत्र मुलुकमा ६ महिनामा सकिने काम नेपालमा ६ वर्ष लाग्छ । कम्तीमा खण्डखण्डमा मात्रै भए पनि कालोपत्रे गर्दै जाने हो भने ठूलो राहत मिल्थ्यो । काठमाडौंमा देखिएको धुवाँ, धूलो स्वास्थ्यको दृष्टिले खतरनाक छ । यसले श्वासप्रश्वास, मुटुरोग, थाइराइडलगायत दीर्घकालीन समस्या निम्त्याउन सक्छ । धूलोका कणहरू श्वासनलीमा बसिदिन्छन् । श्वास फेर्न गाह्रो हुन्छ । फोक्सोमा असर पर्छ ।आँखाले देख्न नसकिने पीएम १० र २.५ माइक्रोग्रामभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडले क्यान्सर निम्त्याउँछ । स–साना कण फोक्सोमा गएर बस्छन् । त्यसले रुघाखोकी, क्रोनिक ब्रोंकाइटिस, दमखोकीलाई बढावा दिन्छ । रोग–प्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ । फोक्सोको क्यान्सर देखिनुमा धूमपान र प्रदूषण मुख्य कारक हुन् । श्वासनली र फोक्सोमा बढी असर गर्छ । स–साना कणहरू रक्तनलीमा जमेर गम्भीर असर गर्छन् ।

बजारमा विभिन्न किसिमका मास्कहरु पाइन्छ । सबै मास्कको उद्देश्य भनेको वाय ुप्रदूषणबाट जोगाउने नै हो । तर सबैखाले मास्कले प्रदूषणबाट जोगाउँछ भन्ने छैन । सामान्य कपडादेखि पेपरको मास्क र केही राम्रा मेडिकल मास्क पनि छन् । एन ९० र एन ९५ मेडिकल मास्क अन्य मास्कभन्दा स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । तर यस्तो मास्क सहजरुपमा उपलब्ध छैन, साथै शुल्क पनि निकै महँगो पर्ने हुँदा सधैँ प्रयोग गर्न सकिन्न । यो मास्क विशेषतः अस्पतालको अप्रेसन थिएटरमा संक्रमण कम गर्नका लागि प्रयोग गरिन्छ, नागरिकको पहुँचमा निकै कम छ ।गर्भवती महिला, बालबालिका, दीर्घरोगीहरुको स्वास्थ्यमा झन् समस्या निम्त्याउनुमा बढ्दो वायु प्रदूषण पनि मुख्य कारण मानिएको छ । दीर्घ रोगीमा पनि मधुमेह, मिर्गौला र मुटु फेल भएका नागरिकमा धुवाँ–धूलोले धेरै असर गर्छ ।
वायु प्रदूषणमा भेटिएको धुवाँमा क्यान्सर गराउने तत्व पनि भेटिएको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । उपत्यकाको वायु प्रदूषणमा पनि भएको विज्ञहरुको भनाइ छ तर अहिलेसम्म यो विषयमा भने सूक्ष्मरुपमा अध्ययन भएको पाइँदैन । वायु प्रदूषण मानव स्वास्थ्यका लागि प्रमुख समस्या नै बन्दै आइसकेको छ । प्रदूषण न्यूनीकरण गर्नका लागि नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

शरीर स्वस्थ्य राख्न दैनिक व्यायाम र सकेसम्म हिँड्नु नै राम्रो व्यायाम भएको चिकित्सकहरुको सुझाव आउँछ । तर अचम्म के छ भने, काठमाडौं उपत्यकाको वायु प्रदूषणलाई हेर्ने हो भने हिँडडुल गर्न सक्ने अवस्था छैन, सकेसम्म घरमै व्यायाम गर्न चिकित्सकहरु सुझाउँछन् । प्रदूषित हावामा व्यायाम गर्ने हो भने विभिन्न श्वासप्रश्वाससम्बन्धी समस्याहरु बढ्दै जाने पनि अध्ययनहरुले देखाएको छ ।सामान्यतया प्रदूषणबाट उत्पन्न हुने स्वासप्रश्वासको समस्याले मौसम हेर्दैन । तर पनि जाडोमा दमका रोगीहरुलाई अलि बढी नै च्याप्छ । जाडोमा प्रदूषण उडेर माथि जाने क्रम अलि कम हुने भएकाले पनि यस्तो भएको हो । तर काठमाडौंमा जुन प्रकारले धूलो उडिरहेको छ र जसरी सवारीसाधन जथाभावी धुवाँ उडाउँदै गुडिरहेका छन्, यस्तोमा मौसमले पार्ने प्रभाव खासै ठूलो हुँदैन ।यस्तो समस्याले युवा र वयष्कलाई भन्दा बालबालिका र वृद्धलाई धेरै समस्या पार्ने गरेको देखिएको छ । उनीहरूमा रोग–प्रतिरोधात्मक क्षमता कम हुने कारणले पनि यस्तो समस्या देखिएको हो । धेरै मान्छेलाई धूलो र धुवाँको जिन्दगीबाट मुक्ति छैन । कुनै एक ठाउँमा धूलो र धुवाँ बढी भयो भनेर अर्को स्थानमा सर्न वा जागिर छाडेर अर्को जागिर खोज्ने अवस्था छैन ।

बिहान सडक बढार्न आउने व्यक्ति आफैंले राम्ररी मास्क लगाएको हुँदैन, अझ कतिले त बच्चा पनि बोकेर आउँछन् । तिनका सन्तानलाई घरमा हेरिदिने कोही हुँदैनन्, अनि महँगो मास्क पनि किनेर लगाउन सक्दैनन् । त्यसैले मौसमभन्दा आर्थिक अवस्था सुधार्न बढी ध्यान दिनुपर्छ ।नाक र मुखबाट शरीरभित्र प्रवेश गर्ने धूलोका कणले समस्या निम्त्याउँछ । धूलोका ठूला–ठूला कणहरू नाक र घाँटीमा अड्कन्छन् । स–साना कण फोक्सोमै पुग्छन् । यसले घाँटी एवं नाकको समस्या, रुघाखोकी, एलर्जी, पिनास, दम, क्षयरोग, मुटुका बिरामीलाई तत्कालै असर गर्छ । नेपालका लागि धूलो–धुवाँको समस्या स्थायीजत्तिकै भएको छ भन्दा पनि फरक पर्ने देखिँदैन । त्यसैले यस विषयमा सम्बन्धित निकायले बेलैमा सोच्नुपर्ने देखिन्छ ।
– सुमित्रा बराल, भोटाहिटी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्