औषधिउपचार नपाई मर्ने अवस्था आउन नदिन रिट निवेदन


नेपाल समाचारपत्र, काठमाडौं ।

कोरोना संक्रमित भएको व्यक्ति औषधिपचार नपाई मर्ने अवस्था आउन नदिन आदेश दिन आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठद्वारा दायर गरिएको रिट निवेदनमा कोभिडको उपचार हुने भनिएको कुनै पनि अस्पतालमा आइसीयू तथा भेन्टिलेटरको अभाव हुन नपाउने गरी आदेश दिन पनि माग गरिएको छ ।

रिट निवेदनमा कोभिडको उपचार गर्नको लागि रकमको अभाव भयो भने अन्य क्षेत्रमा छुट्याइएको रकमलाई रकमान्तर गरेर भए पनि बिरामीलाई उचितरूपमा उपचार गर्न लगाउनको लागि आदेशको माग गरिएको छ ।हरेक अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा विशेषज्ञ पठाई उचित उपचारको व्यवस्था गर्न, आइसीयू तथा भेन्टिलेटरको प्रयोग गर्नको लागि विशेषज्ञको व्यवस्था गर्न, त्यतिकै थन्किएर रहेका आइसीयू तथा भेन्टिलेटर मेसिनहरूलाई चुस्त दुरुस्त बनाई प्रयोगमा ल्याउनको लागि पनि आदेश दिन रिट निवेदनमा भनिएको छ ।

राज्यले बिरामीलाई उचित रूपमा उपचार नगरी व्यक्ति मर्ने अवस्था भयो भने राज्यले नै हत्या गरेको सरह हुने उल्लेख गर्दै रिट निवेदनमा भारतमा यस्तो किसिमबाट त्यहाँको अदालतले बोलेको उदाहरण पनि सर्वोच्चलाई स्मरण गराइएको छ । कोभिड उपचारको नाममा अत्यधिक रकम लिने अस्पताल तथा स्वास्थ्य संस्थामाथि अनुगमन तथा निगरानी गरी त्यस्ता अस्पताललाई कारवाही गर्नको लागि आदेश दिन माग गरिएको छ ।

दायर भएको रिट निवेदनमा कोभिडको कारण दुख पाएका बिरामीको बारेमा विभिन्न सञ्चार माध्यममा आएका समाचारलाई आधार बनाई रिट निवेदन दायर गरिएको छ । रिट निवेदनको सोमबार प्रारम्भिक सुनुवाई हुने गरी मिति तोकिएको रिट निवेदक श्रेष्ठले बताउनुभयो ।