तत्काल अक्सिजन प्लान्ट जडान असम्भव: अफिन


काठमाडौं, (नेस)

कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने अक्सिजनको अभावमा बुधबार मात्र १४ जनाको अकालमा ज्यान गएको छ । यसैबीच सरकारले बुधबार निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट बनाउन निर्देशन दिएको छ । तर, निजी अस्पतालहरूले भने वर्तमान परिस्थितिमा अक्सिजन प्लान्ट जडान गर्न लाग्ने लगानी गर्न अस्पताल सक्षम नभएको जनाएका छन् ।

एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले बिहीबार प्रेस विज्ञप्ति जारी यस्तो जानकारी दिएको हो । जारी विज्ञप्तिमा भनिएको छ– ‘सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि २ करोड पर्छ । सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ । वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पताल सक्षम छैनन् ।’ विज्ञप्तिमा अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण नभएको उल्लेख गर्दै विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि ३ महिना नभई प्लान्ट तयार गरिदिने अवस्था नरहने र प्लान्ट भित्रिएपछि पनि सोको जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने दाबी गरिएको छ ।अफिनले निजी अस्पतालहरूले कोरोना संक्रमितको उपचारमा सम्पूर्ण ध्यान केन्द्रित गर्दा पनि राज्यले स्रोतसाधन उपलब्ध गराउनुको साटो गैरजिम्मेवारीपूर्ण निर्णय गरेको पनि ठहर गरेको छ ।

‘सीमित साधन–स्रोतका अतिरिक्त निजी अस्पतालहरूले आफ्नो सम्पूर्ण ध्यान कोभिड संक्रमित बिरामीको उपचार सेवामा केन्द्रित गरिरहेको अवस्थामा अत्यावश्यक साधनस्रोत राज्यले उपलब्ध गराउनुको साटो यस्तो गैरजिम्मेवारपूर्ण निर्णयले राज्य अहिलेको विषम परिस्थितिमा कसरी सञ्चालन भइरहेछ भन्ने स्पष्ट हुन्छ ।’ –विज्ञप्तिमा भनिएको छ ।अस्पताल दर्ता गर्दा नै अक्सिजन प्लान्ट हुनुपर्ने भन्ने बुँदा नयाँ नीतिमा उल्लेख गरिएको भए पनि यसलाई अनिवार्य नगरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह बताउनुहुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पनि नयाँ नीतिमा अक्सिजन प्लान्ट हुनुपर्ने भनिए पनि अनिवार्य नगरिएको स्वीकार गर्नुभएको छ ।

उहाँले सरकारकै कमजोर नीतिका कारण र अक्सिजन बढी खपत हुने खालका बिरामीको चाप नभएकै कारण हाल नेपालमा सञ्चालनका लागि स्वीकृति पाएका अधिकांश अस्पतालसँग अक्सिजन प्लान्ट नभएको बताउनुभयो ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय बेड सञ्चालन गरेका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने निर्देशन दिएको थियो ।