आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न अमेरिकाको आग्रह


काठमाडौं, (नेस)

नेपालमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण अत्यधिक बढेपछि अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले नेपाललाई कोभिड–१९ को उच्च जोखिम भएको देश भन्दै ‘ट्राभल हेल्थ नोटिस’ जारी गर्दै नेपाल भ्रमण नगर्न आग्रह गरेको छ ।

अमेरिकाको विदेश मन्त्रालयले भने दुई दिनअघि नै ट्राभल एड्भाइजरी जारी गरी आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आग्रह गरिसकेको छ । यसअघि अमेरिकाले नेपालको छिमेकी मुलुक भारत भ्रमणमा आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको थियो ।

नेपालमा अत्यधिक मात्रामा कोरोना संक्रमण बढेपछि अमेरिकाले नेपालमा रहेका र स्वदेश फर्कन चाहने आफ्ना नागरिकलाई चार्टर्ड विमानमार्फत आफ्नो देश लैजाने अनुमति दिन पनि नेपाल सरकारलाई आग्रह गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले नेपालबाट फर्कन चाहने अमेरिकीलाई आफ्नो नाम दूतावासमा टिपाउन सूचना जारी गरेको छ ।