नेपाल समूह सामूहिक राजीनामाको तयारीमा


मधुसूदन रायमाझी, काठमाडौं

पार्टीभित्रको आन्तरिक विवादका कारण आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अनुपस्थित भएका एमालेको खनाल–नेपाल समूहका सांसदहरूले राजीनामा दिने तयारी गरेका छन् ।

नेपाल समूहका एक नेताका अनुसार कसैलाई सघाउनभन्दा पनि पार्टीमा एकलौटी गर्दै आएका ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि राजीनामा दिन लागिएको हो । उनले भने– ‘समस्या नै ओली हुन्, अब फेरि ओलीलाई निरन्तरता दिन सकिँदैन भन्ने हाम्रो निष्कर्ष छ ।’संसद्मा विश्वासको मतदान हुनुअघि नै राजीनामा दिने तयारी गरे पनि अन्तिम समयमा उक्त समूहका सांसदहरू पछि हटेका थिए । माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ सरकार गठन गर्नका लागि अब जसपाको अध्यक्ष महन्थ ठाकुर पक्षको साथ लिनु नपर्ने भएको छ ।

गत २७ गते प्रतिनिधिसभामा नेपाल पक्षका २८ जना सांसद अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्ताव असफल भएको थियो । सोही दिन राष्ट्रपतिले दलहरूलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ ।नेपाल समूहले कांग्रेस, माओवादी केन्द्र र जसपा उपेन्द्र समूहबाट मात्र नयाँ सरकार बन्ने सम्भावना नभएपछि वैकल्पिक सरकार बनाउन सहयोग गर्ने निष्कर्ष निकालेको छ । बुधबार बसेको नेपाल समूहको स्थायी समिति बैठकले एमाले पार्टी फुटाउन र कम्युनिस्ट आन्दोलन कमजोर बनाउन ओली लागिरहेको ठहरसमेत गरेको छ । नेपाल समूहले सर्वोच्च अदालतले पार्टी ब्युँताउने फैसला गरेसँगै पार्टीलाई २०७५ जेठ २ मा फर्कन आग्रह गरेको थियो । तर, अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय सच्याउन नसकिने बताएपछि अन्ततः एमाले विभाजनको संघारमा पुगेको छ । नेपाल समूहले नयाँ सरकार गठनका लागि बहुमत सुनिश्चित गर्न आफूहरु राजीनामा दिन तयार भएको जानकारी सभापति देउवालाई गराइसकेको बताइएको छ ।

नेपाल समूहका नेता घनश्याम भुसालले बुधबार सामाजिक सञ्चालमार्फत ओलीसँग आत्मसमर्पण नगर्ने बताउँदै राजीनामाको बाटोमा जाने स्पष्ट संकेत गर्नुभएको छ । नेपाल समूहका २० सांसदले राजीनामा गर्दा प्रतिनिधिसभाको हाल कायम रहेको संख्या घट्न जान्छ, जसले गर्दा देउवालाई सरकार गठनका लागि संख्या जुटाउन सहज हुनेछ ।

देउवाको अग्रसरता

नयाँ सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रसरता देखाउनुभएको छ । कांग्रेसलाई माओवादी केन्द्र र जसपा उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समूहले साथ दिएको छ । सिंगो जसपा नआएमा देउवाको नेतृत्वको सरकार गठन गर्न माधव नेपाल समूहका सांसदहरुले राजीनामा दिनुपर्ने हुन्छ ।बुधबार बसेको जसपाको पदाधिकारीको बैठकले कुनै निर्णय गर्न सकेन । पदाधिकारीको बैठकमा छलफल भए पनि कुनै सहमति नभएको जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले बताउनुभयो । उहाँका अनुसार पुनः बैठक बसेर पार्टीले निर्णय गर्नेछ । जसपाभित्र अध्यक्ष महन्त ठाकुर र नेता राजेन्द्र महतो समूह नयाँ सरकार गठनमा सहभागी नहुने अडानमा रहनुभएको छ ।

यता, यादव र भट्टराई भने ओलीको विकल्पमा नयाँ सरकार गठनमा सहभागी हुनुपर्ने अडानमा रहनुभएको छ । जसपाका यादव नेतृत्वको सांसदले मत दिने र नेपाल समूहका सांसदले राजीनामा दिने निर्णय गर्नासाथ बहुमतको सरकार गठनका लागि देउवा अगाडि बढ्ने बताइएको छ । देउवाले बुधबार दिनभर सिंगो जसपालाई नै सरकारमा ल्याउन विभिन्न नेतासँग छलफल गर्नुभएको थियो ।

ठाकुर र महतोको दौडधुप

संसद्मा तटस्थ रहनुभएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नयाँ सरकार गठन हुन नदिने दौडधुपमा लाग्नुभएको छ । संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउने गठबन्धनप्रति अरुचि देखाउँदै तटस्थ बसेको उक्त समूह बुधबार बालुवाटार गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको थियो ।

ठाकुर र महतोले राष्ट्रपतिसमक्ष सरकार गठनमा सामेल नहुने पत्र बुझाउँदै उपेन्द्र यादवको हस्ताक्षरलाई वैधता नदिन आग्रह गरेको बताइएको छ । वैशाख २७ गते प्रतिनिधिसभामा भएको विश्वासको प्रस्तावको मतदानमा तटस्थ बसेका ठाकुरले सोही राति नयाँ सरकार गठन प्रक्रियामा शेरबहादुर देउवालाई नसघाउने विज्ञप्ति जारी गर्नुभएको थियो ।