प्रेमध्वज प्रधान गोल्डेन भ्वाइस अफ नेपाल


काठमाडौं

संगीतमा लागेर करियर बनाउन सकिन्छ भन्ने कल्पनासमेत गर्न नसकिने कालमा गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त गायक, पाश्र्व गायक तथा संगीतकार प्रेमध्वज प्रधान आफ्नो मखमली स्वरबाट नेपाली संगीत क्षेत्रका गोल्डेन भ्वाइसका रूपमा चिनिन्छन्। ७ सय ५० भन्दा बढी गीतका धनी यी गायक सांगीतिक क्षेत्रमा जति स्थापित छन्, त्यति नै धेरै उनका सुख, दुःख, सफलता, असफलता, आरोह र अवरोहका कथा छन्।

आधुनिकदेखि फिल्मीसम्म, नेवारीदेखि नेपालीसम्म, लोकशैलीदेखि भक्ति गीतसम्मलाई मखमली स्वरले सजाएर नेपाली गीत संगीतको क्षेत्रमा कालजयी गीत दिँदै आएका गायक प्रधान १९९३ साल (सन् १९३८ जुन ६) मा सिन्धुपाल्चोकको चौतारामा पिता रत्नध्वज प्रधान र प्राणदेवी तुलाधारबाट जन्मिएका थिए।

काठमाडौंको नघलमा पनि उनीहरूको पुख्र्यौली घर थियो। आधा बाल्यकाल सिन्धुपाल्चोकमा बिताएका प्रेमध्वज २००७ सालमा प्रजातन्त्र उदय भएसँगै काठमाडौं आएका थिए।त्यो बेलामा सिन्धुपाल्चोकमा उनको परिवारको किराना पसल थियो। उनको जिजुबाजे नारायणकृष्ण शास्त्रीय संगीतमा ज्ञान राख्थे। उनको आमा पनि शास्त्रीय संगीतमा ज्ञान राख्थिन्। त्यसैले, प्रेमध्वजले संगीतको प्रारम्भिक ज्ञान आमाबाटै बढी लिए। प्रेमध्वजले घुम्तीमा नआऊ है बोलको गीतबाट गायक गीतसंगीत क्षेत्रमा जति धेरै सफलता हासिल गरे, जीवनमा त्यति नै दुःख पनि भोगे। उनी ६-७ वर्षको हुँदा उनका बुबा र आमा छुट्टिए। २००१ साल श्रावण भदौतिर प्रेमध्वज आमासँगै डेरामा बसे। प्रेमध्वजको आमा तुलाधर भएकाले जात नमिलेको भन्दै बाजेहरूले उनको बुबाको अर्को विवाह गरी दिए। तर, कान्छीआमा गंगादेवीबाट बच्चा भने भएन। त्यसपछि प्रेमध्वजलाई उनका बुबालाई नघलमा राखे।

 

प्रेमध्वजको नाम शुरूमा गणेशध्वज प्रधान थियो। त्यति बेला नाम चलेको विश्व निकेतन स्कुल पढ्ने क्रममा तत्कालीन प्रधानाध्यापक प्रेमबहादुर श्रेष्ठले यो नाम पुरानो भयो भन्दै उनलाई गणेशध्वजबाट प्रेमध्वजको नाम दिएका थिए। त्यति बेला राजधानीमा दबु प्याखँ (सडक नाटक) को चलन खुबै थियो। इन्द्रजात्राको छेको पारेर टोलटोलमा देखाइने त्यस्ता प्याखँमा पुरुष नै महिला भएर देखिन्थे। एउटा दबु प्याखँमा महिला बनेर खेल्ने पुरुष अचानक बिरामी भएपछि त्यो रोल गर्न सबैले प्रेमध्वजलाई दबाब दिए। उनले ‘बाले गाली गर्छ’ भन्दै टार्न खोजे पनि टोलबासीले भने प्रेमध्वजलाई छोडेनन्। बुबाले मानेपछि गीतसंगीतलाई प्रेम गर्ने प्रेमध्वजले दबु प्याखँ सत्तलसिंह महाराजामा हिरोइन भएर खेले।प्रेमध्वजले दिनभरि बुवाको कपडा पसलमा बस्ने र बेलुकी दरबार स्कुलको प्रौढ शिक्षा निकेतनमा पढ्ने गरेर अध्ययनलाई निरन्तरता दिएका थिए। २०१० सालमा एसएलसी परीक्षा दिएका प्रेमध्वज संस्कृतमा ६ नम्बर नपुगेर फेल हुन पुगे। फेल भएपछि एक वर्ष त पढ्दै पढेनन् उनले। एक वर्षको यो समयमा उनलाई दिल्ली र बम्बई घुम्ने अवसर जु-यो।

 

त्यहाँ घुम्दा उनले पढाइ भनेको जीवनको महत्वपूर्ण कुरा हो भन्ने प्रेरणा पाए। यो प्रेरणा उनको जीवनका लागि यति प्रभावकारी भयो कि उनले व्यापारमा सघाउनदेखि संगीतमा रमाउन समेत त्यागेर दत्तचित्त भई पढाइमा लाग्ने निर्णय गरे। त्यहाँबाट सीधा फर्केर पद्मोदयमा पढ्न थाले र पास पनि भए।प्रेमध्वजलाई फिल्म हेर्ने सोख खुब थियो। उनी रेडियो सिलोन र विविध भारती नामक भारतीय रेडियो कार्यक्रम पनि खुबै सुन्थे। साथीभाइहरूसितको जमघटमा हिन्दी गीत सुनाउनु उनको दिनचर्या नै थियो। २००९ सालतिर गायक बन्न चाहनेका लागि रेडियो नेपालमा स्वर परीक्षा लिने चलन शुरू भइसकेको थियो। साथी प्रेमबहादुर श्रेष्ठ स्वर परीक्षा दिन रेडियो नेपाल जान लागेको थाहा पाएपछि प्रेमध्वज पनि सँगसँगै लागे। उनीहरू त्यहाँ पुग्दा तेह्र चौध वर्षकी एउटी केटी स्वर परीक्षा दिइरहेकी थिइन्। औरत नामक हिन्दी फिल्मका लागि लता मंगेशकरले गाएको किसि ने मुझको बनाके अपना बोलको हिन्दी गीत गाएर स्वर परीक्षा दिइरहेकी तिनी कलानाथ अधिकारीकी छोरी रहिछन्। स्वर परीक्षा लिनेमा नातीकाजी, पन्ना काजी र शिवशंकरजस्ता त्यति बेलाका नामुद मानिने सांगीतिक धरोहर थिए। त्यत्रो सानो फुच्चीले स्वर परीक्षा दिएको देख्दा प्रेमध्वजलाई पनि स्वर परीक्षा दिन मन लागेछ। उनले पुरानो चिनजानको नाताले उस्ताद भैरवबहादुर थापासित सहयोग मागे। उस्ताद थापाले प्रेमध्वजको आमालाई संगीत शिक्षा दिएका थिए।

 

उनैको सहयोगमा उनी रेडियो नेपालमा स्वर परीक्षा दिन पुगे। त्यहाँ उनले तलत महमुदले गाएको हिन्दी गीत जिन्दगी देनेवाले सुन गाएर भ्वाइस टेस्ट दिए। हार्मोनियम उनी आफैंले बजाएका थिए। उनलाई एक हप्तापछि सम्पर्क राख्न भनिएको थियो। प्रेमध्वजले त्यति धैर्य पनि गर्न सकेनन्, चारपाँच दिनपछि नै रेडियो नेपाल पुगे। उनी जाँदा परिणाम प्रकाशित भइसकेको रहेछ। परिणामअनुसार उनी ‘क’ श्रेणीमा पास भएका रहेछन्। भ्वाइस टेस्ट पास भएपछि रेडियो नेपालले गीत गाउन दिन्थ्यो। क श्रेणीमा पास भएकालाई १० रुपियाँ पारिश्रमिक दिइन्थ्यो। ख श्रेणीलाई ८ रुपियाँ र ग श्रेणीलाई ५ रुपियाँ दिइन्थ्यो। क श्रेणीमै स्वर परीक्षा पास भएपछि प्रेमध्वजका लागि रेडियो नेपालमा गीत गाउने अवसरको ढोका पनि खुल्यो। त्यति बेला हिन्दी गीतको प्रभाव धेरै थियो। तर भैरवबहादुर उस्तादले नेपाली गीत सिकाउनुभयो। त्यति बेला रेकर्डिङ सिस्टम थिएन। लाइभ गाउनुपथ्र्यो। उनले लाइभ नै गाएँ। रेडियो नेपालमा गाएको उनले गाएको पहिलो गीतको बोल थियो याद कसैको आइरहेछ, यो अँधेरी रातमा। प्रेमध्वजको कला र गलालाई परिष्कृत गर्ने काम संगीतकार वाद्य शिरोमणि गणेशलाल श्रेष्ठले गरे। रेडियो नेपालबाट प्रेमध्वजको गीत बज्न थालेपछि उनको लोकप्रियता चुलिँदै गयो। तर, लोकप्रियताले मात्रै जीवन चल्दो रहेनछ। बुबासँग छुट्टिएपछि एक्लो परेकी आमालाई सघाउन प्रेमध्वजले रेडियो नेपालमैै जागिर खाने प्रयास गरे। त्यति बेला सबैको तलब १ सय रुपियाँ थियो। उनले रेडियो नेपाल गएर ५० रुपियाँमै भए पनि जागिर खान्छु भने। तर, जागिर भने दिइएन। त्यो व्यवहारबाट दुःखी बनेका प्रेमध्वजको मनमा रेडियो नेपालप्रति नै वितृष्णा उत्पन्न गराएपछि उनले रेडियो नेपालमा गीत नै नगाउने प्रण गरे।

टाइप गर्न जानेका उनी त्यहाँबाट एक परिचितमार्फत जागिर खोज्न अमेरिकन लाइब्रेरीमा पुगे। जागिर पाउने स्थिति नभए पनि उनले हरेस खाएनन्। स्वयंसेवक भएर भए पनि काम गर्ने प्रस्ताव राख्दासमेत लाइब्रेरीले मानेन। पछि उनको ढिपीका अगाडि लाइब्रेरीको केही लागेन। केही समयावधिका लागि भनेर स्वयंसेवकका रूपमा राखिएका उनलाई तीन हप्ताजतिको सेवापछि विनापारिश्रमिक काम गराउन मिल्दैन, बरु पछि दरबन्दी खुले बोलाउने आश्वासन दिँदै बिदा दियो। केही नलागेपछि प्रेमध्वजले ट्युसन पढाउन थाले। तीन महिना बितिसक्दा समेत लाइब्रेरीले नबोलाएपछि उनी फेरि बम्बई दिल्ली नै जाने सोचमा पुगे। साथी श्याम थापाले पनि यसैमा सही थापे। जागिर नपाएर हैरान भएका प्रेमध्वजले उनै श्यामसित बम्बई गएर केही गर्ने निर्णय गरे। १९५९ तिर रक्सोलसम्म साझा बस जान्थ्यो। ५-६ रुपियाँ भाडा लिन्थ्यो। काउन्टरमा बस्नेले टिकट अग्रिम काट्नुपर्दैन भोलि बिहान आए हुन्छ भनेर फर्काइदिए, घर पुग्दा अमेरिकन लाइब्रेरीबाट बोलाएको खबर आयो। प्रेमध्वजले २०११-०१२ सालदेखि गीतको लयसमेत बनाउन थाले भने ०१३ सालमा तारादेवीसँग एउटा गीत रेकर्ड गराउने अवसर पाए। त्यो पनि अमेरिकन एम्बेसीले डोनेसन दिएको पुरानो प्रविधिको रेकर्डिङ मेसिनमा। त्यति बेला गीत रेकर्ड गर्नका लागि वाद्यवादकले पनि गायकगायिकासँगै बसेर बाजा बजाउनुपथ्र्यो। वाद्यवादकको जम्बो टोलीसँग बसेर उनले पहिलो गीत गाएका थिए यो नेपाली शिर उचाली संसारमा लम्कन्छ।

२००९-०१० सालतिर अचानक प्रेमध्वजको स्वर बिग्रिएर हाई पनि नजाने लो पनि नजाने भयो। वीर अस्पतालका डा. लक्ष्मीनारायण प्रसादले उनको बायाँ स्वरनलीमा आधा सेन्टिमिटर जति डल्लोजस्तो उठेको पत्ता लगाएपछि भारतको दिल्लीमा गएर त्यहाँ अप्रेसनपछि तुरुन्तै स्वर ठीक हुँदैन भन्ने थाहा पाउँदा पाउँदै पनि अप्रेसन गराए। अप्रेसन सफल भए पनि अर्को विपत्ति आइलाग्यो प्रेमध्वजलाई। उनको गलाबाट स्वर भने निस्केन।गीत गाउन नमिले पनि उनले संगीत सिक्ने काम रोकेनन्। त्यहीताका अमेरिकन दूतावासको निम्तोमा यहाँ कार्यक्रम गर्न आएका अमेरिकन लोककलाकारहरूसँग गितार बजाउन सिके। त्यो समयमा नेपालमा गितार भित्रिसकेको थिएन, अमेरिकी टोलीले बोकेर ल्याएको गितारमा आँखा परेपछि उनले त्यो बजाउन सिकेका थिए। पछि उनले हङकङबाट गितार मगाए। २०२० सालतिर रेडियो नेपालमा भएको प्रतियोगितामा बच्चु कैलाश, माणिकरत्न स्थापित, तारादेवी, नारायणगोपालजस्ता गायन प्रतिभालाई उछिन्दै उनी पहिलो पुरस्कार जित्न सफल भएका थिए।

यद्यपि उनले प्रतियोगितात्मक रूपमा प्रथम हुनुअगाडि नै लोकप्रियता कमाइसकेका थिए। उनले २०१५ सालतिर त्रिचन्द्र कलेजमा आइएससी पढ्दा दुर्गालाल श्रेष्ठ र भृगुराम श्रेष्ठसँग गायन कला सिकेर नेपालभाषामा गीत गाएका थिए। टोलटोलमा हुने नेपालभाषाको सांगीतिक कार्यक्रममा प्रेमध्वज प्रमुख आकर्षण हुने गर्दथे। उनले त्यति बेला गाउने नेपालभाषाका गीतहरूमा व छु गल्ली थ्व छु गल्ली, वाउँगु लप्ते, राजमति कुमति प्रमुख हुने गर्दथे। प्रेमध्वजलाई सजिलो लाग्ने नेपालभाषा र हिन्दी गीत नै थिए। नेपालभाषाको कार्यक्रम हुँदा प्रेमध्वज र योगेश वैद्यले गीत गाउँथे।

कार्की पुरस्कार

२०५९ मा नारायणगोपाल संगीत पुरस्कार, हिट्स र इमेज नेटवर्कबाट लाइफ लाइट एचिभमेन्ट अवार्ड

२०६२ मा राष्ट्रिय पुरस्कार र गायक पुष्प नेपाली स्मृति सम्मान

२०६५ मा भीम विराग साहित्य कला संगीत प्रतिष्ठानबाट पुरस्कार

२०६६ मा नातिकाजी

विशेष संगीत सम्मान

२०६७ मा धुस्वां साय्मी सिर्जना पुरस्कार

२०६९ मा श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार तथा कार्निभल सांगीतिक टोली दार्जिलिङ विशेष अभिनन्दन

२०७० मा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कार, कालिका एफएम चितवनद्वारा लाइफ टाइम एचिभमेन्ट अवार्ड तथा नेपाल हङकङ समाजद्वारा विशेष अभिनन्दन