कर्णाली क्षेत्रमा विविध ऊर्जाको अवसर सिर्जना गर्न रणनीतिक योजनाको आवश्यकता छ । कर्णाली नदी कोरिडोर व्यवस्थापनको अवधारणामा ठूला जलविद्युत्बाहेक कर्णाली बेसिनमा अन्य विकल्पसहितको विकास गर्न सकिन्छ । यसका सहायक नदीमा साना जलविद्युत् विकास (एक सय किलोवाटदेखि १० मेघावाट), उच्च सौर्य सम्भावना भएका क्षेत्रमा समुदाय वा व्यक्तिगत सौर्य प्रणाली, सौर्य सिंचाइ (पम्पिङ) को निर्माण र हावा ऊर्जाका लागि थप अध्ययन आवश्यक छ ।
कर्णाली नदी जलयात्रामा विश्वकै उत्कृष्ट १० नदीहरूमध्ये एक हो । आगामी दिनमा कर्णालीको पवित्रतामा ध्यान दिँदै नदी कोरिडोर निर्माण, बजारीकरण, पर्यटकीय गन्तव्यको पहिचान र विकास गर्नुपर्ने कुरामा जोड दिन सके यसको महत्व झनै बढ्ने देखिन्छ । यसका लागि स्थानीय समुदायहरूलाई संलग्न गराउनु सकिन्छ । पहिचान भएका कर्णाली नदीका विभिन्न महत्वपूर्ण खण्डहरूलाई कानुन बनाएर नदी संरक्षण क्षेत्रका रूपमा तोकिनु आवश्यक छ ।यस्तै कर्णालीका विभिन्न भागलाई जलीय जैविक प्राणी संरक्षण क्षेत्र तोकिनु जरुरी छ । ठुलीगाडभन्दा १६ किमि तल र सेतीको दोभानदेखि १० किमि माथिसम्म ‘सहर माछा संरक्षण क्षेत्र’, गेरुवा नदीको चिसापानीदेखि भारत सीमा र मोहना नदीको ४ किमि खण्डसम्म ‘डल्फिन संरक्षण क्षेत्र’ तोक्न सकिन्छ । आगामी दिनमा नदीको स्रोत र महत्वका बारेमा फरक ढंगले सोच्नुपर्ने, रणनीतिक र दिगो जलविद्युत् विकास गर्नुपर्ने, नदी संरक्षण कानुन बनाउनुपर्ने, जलीय जैविक विविधता संरक्षणमा थप पहल गर्नुपर्ने, अहिले निर्माण भइरहेका सडक वातावरण–मैत्री हुन पनि त्यत्तिकै आवश्यक छ ।
कर्णाली नदी तिब्बतको समुद्र सतहबाट ३९६२ मिटर उचाइमा रहेको माप्चोचोंगो नामको हिमनदीबाट निस्केर मानसरोवर तालनजिकै रहेको रकोस सरोवरमा मिसिन्छ । त्यसपछि नेपालमा प्रवेश गरेपछि मुगु जिल्लामा यो करन खोला अथवा मुगु कर्णालीसँग मिसिन्छ । त्यसै कारण खोलाको नामबाट नै यो नदीको नाम कर्णाली नदी रहन गएको अनुमान छ ।यो नदी बाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना हँदै कालीकोट जिल्लामा पुग्दासम्म यसका धेरै सहायक नदीनालाहरूले गर्दा यसले खोलाबाट नदीको रूप लिइसकेको हुन्छ । मुगु जिल्लामा रहेको रारा तालको पानी यो नदीमा मिसिँदै यसले विशाल रूप लिइसकेको हुन्छ । त्यसै गरी हुम्ला र बाजुराको सिमानामा हुम्ला कर्णाली र बूढीगंगा मिसिएपछि यो नदी धेरै ठूलो भैसकेको हुन्छ ।
कालीकोटको लालीघाटमा आएर यो नदीमा जुम्ला जिल्लाबाट आएको तिला नदी मिसिन्छ । यसै गरी अन्य साना खोलानालाहरू साथमा लिएर यो नदी दैलेख जिल्ला र अछाम जिल्लाको सिमाना हुँदै अगाडि बढ्छ । दैलेख र अछामका अन्य सहायक नदीनालाहरूलाई साथमा लिँदै यो नदी दैलेख, अछाम र सुर्खेत जिल्लाको सिमानामा पर्ने कल्यानकाँध नामक स्थानमा आएर यो नदीले आफ्नो बाटो बदलेर उल्टो फर्केको छ । जसले गर्दा पश्चिमबाट पूर्वतर्फ बग्दै गरेको यो नदी फेरि पश्चिमतिर फर्केर जान्छ । यसै गरी यो नदी अब सुर्खेत र अछाम जिल्लाको सिमाना हुँदै डोटी जिल्लाको सिमानामा पुग्छ । त्यहाँ यो नदीमा डोटीबाट आएको सेती नदी (जसलाई चौलानी नदी पनि भनिन्छ) मिसिन्छ । त्यसपछि कर्णाली नदी फर्केर फेरि पूर्वतिर बग्न थाल्छ ।
अब कर्णाली नदीले डोटी र अछामलाई छोडेर सुर्खेत र कैलाली जिल्लाको सिमानामा बग्न थाल्छ । कैलाली र सुर्खेतको सिमानामा पर्ने कुइने घाट नामक स्थानमा आएर यो नदीमा सुर्खेततिरबाट आएको भेरी नदी मिसिन पुग्छ । त्यसपछि यो नदी कैलाली र सुर्खेतको सिमाना छुट्याउँदै कर्णाली चिसापानी भन्ने ठाउँमा आउँछ । त्यहाँबाट यो नदीले आफ्नो पहाडी बाटो छोडेर तराईको मैदानमा प्रवेश गर्छ । अब यो नदीले बर्दिया जिल्लामा प्रवेश गरिसकेको हुन्छ ।बर्दियामा आएपछि यो नदीमा बबै र सानी भेरी गरी दुईवटा नदीहरू मिसिएका छन् । त्यसका साथै यो नदी भारतमा प्रवेश गर्छ । यहाँ आएर यो नदी आफू पनि दुई भागमा बाँडिएको छ । एक शाखालाई कौरियाला घाटको नाम दिएको छ भने अर्को शाखालाई भारतमा घागरा नदीको नाम दिएको छ । भारतमा यो नदीमा अन्य सहायक नदीहरू मिसिन्छन् । जस्तै– महाकाली नदी, जसलाई भारतमा शारदा नदी भनिन्छ ।
कौरियाला घाट नामको नदी अयोध्या भएर बगेको छ । अयोध्यामा यो नदीलाई सर्यौं नदीको नाम दिइएको छ । घागरा नदी विहारको छपरा जिल्लामा गएर गंगा नदीमा गएर मिलेको छ । त्यहाँबाट यो नदीको नाम गंगा नदी नै रहन गएको छ । अन्तमा पश्चिम बंगाल राज्यको कोलकाटा शहरनजिकै रहेको गंगासागर नामक स्थानमा यो नदी समुद्रमा मिलेको छ ।नेपालको सबैभन्दा लामो नदी कर्णाली नदी हो । यसका सहायक नदीहरूमा हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी नदी, तिला, बुढीगंगा नदी र सेती नदी हुन् । कर्णाली नदीको नेपालभित्रको लम्बाइ लगभग ५०७ कि.मि. र जलप्रवाहित क्षेत्र ४९,००० वर्ग कि.मि. छ ।कर्णाली नदीमा पाइने मुख्य जलीय जीव त माछा नै हो । कर्णाली नदीको माछा अरु नदीको माछाभन्दा बढी स्वादिष्ट हुन्छ । यो नदीमा पाइने माछाहरूमा असला माछा मुख्य हो, साधारणतया १० देखि १५ किलोसम्म वजन भएको असला माछा कर्णाली नदीमा धेरै पाइन्छ ।
यसका साथै यो नदीमा माछाका अन्य धेरै प्रजातिहरू रहेका छन् । जस्तै– सट्टा माछा, यसको वजन ५० देखि १५० किलोसम्म भएको अनुमान गरिन्छ, टोटे माछा (यो माछा भकुण्डोजस्तै गोलो र मोटो हुन्छ), बाम माछा (यो माछा देख्दा सर्पजस्तै देखिन्छ), खोली माछा आदि । यस्तै कर्णाली नदीमा गर्मीको मौसममा कैलाली जिल्लाको छेउछाउतिर गोहीहरू पनि भेट्टाउन सकिन्छ । पहिले कर्णाली नदीमा गोहीहरू प्रशस्त मात्रामा भएको तर अब गोहीको सिकार गरिने भएका कारण यो जीव कर्णाली नदीमा लोप हुँदै गएको छ । यस्तै कर्णाली नदीमा कहिलेकाहीँ पानी बिरालो पनि भेटिएको सुन्नमा आउँछ ।
– कालीबहादुर शाही, कालिकोट ।
प्रतिक्रिया