बैतडीमा सोमबारदेखि निषेधाज्ञा

0
Shares

नेपाल समाचारपत्र, बैतडी ।

बैतडीमा सोमबारदेखि निषेधाज्ञा शुरू भएको छ । नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भन्दै प्रमुख जिल्ला अधिकारीले जेठ २ गतेसम्म निषेधाज्ञाको घोषणा गरेका हुन् ।

बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार निषेधाज्ञा सोमबारदेखि जेठ २ गते राति १२ बजेसम्म लागू हुनेछ ।
आइतबार सदरमुकाममा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस गरेपछि निषेधाज्ञाको घोषणा गरिएको हो । नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ ।

निषेधाज्ञाको समयमा सवारीसाधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिँडडुल गर्न पाइनेछैन । खाद्यान्न तथा तरकारी पसल बिहान ७ देखि १० बजेसम्म मात्रै खोल्न पाइनेछ । विवाह, व्रतबन्ध जस्ता कार्यहरु थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइनेछ । सभा, समारोह, खेलकुद प्रतियागिता, मेला जात्रामा पूर्णरूपमा रोक लगाइएको छ । बैंक तथा वित्तीय संस्थाहरु स्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।

यस्तै, कुनै निर्माणका कामहरु गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिस गरेमा आवश्यकताका आधारमा ती कामहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । विकास निर्माणका योजनाको काम अघि बढाउँदा संक्रमण नफैलिने सुनिश्चितता भएको अवस्थामा त्यस्ता आयोजनामा मात्रै काम गर्न दिने र अन्यथा सबै विकास निर्माणका कामसमेत रोक्ने निर्णय भएको छ ।

कसैले निषेधाज्ञाको उल्लंघन गरेमा संक्रामक रोग ऐनअनुसार कारबाही हुने बताइएको छ । बैतडीमा दोस्रो लहरको कोरोनाबाट २ सय १३ जनामा संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।