एकै गाउँका १४ मा कोरोना, बजार क्षेत्र सिल


बैतडी, नेस 

नयाँ भेरिएन्टसहित दोस्रो लहरको कोरोना भाइरस एकै गाउँका १४ जनामा देखिएपछि पाटन नगरपालिकाको बजार क्षेत्र वैशाख मसान्तसम्म पूर्णरूपमा बन्द हुने भएको छ । आइतबार बसेको सर्वपक्षीय सरोकारवालाहरुको बैठकले संक्रमण नियन्त्रणका लागि सोमबारदेखि बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । बैतडीको दशरथचन्द नगरपालिकाको ९ ग्वाल्लेकका १४ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेकाले यसको नियन्त्रणका लागि सोमबारदेखि पाटन नगरपालिका क्षेत्रभित्रका बजार बन्द गर्ने निर्णय भएको नगरप्रमुख केशवबहादुर चन्दले बताउनुभयो ।वैशाख १४ गते कोरोनाका कारण मृत्यु भएका दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका ३३ बर्षीय पुरुषको सम्पर्कमा रहेका १७ जनामध्ये १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । ती पुरुषको वैशाख १४ गते डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

संक्रमण पुष्टि भएकाहरु घरमै होम आइसोलेसनमा रहेका जनाइएको छ । पछिल्लो समय गाउँ–गाउँमा कोरोनाको संक्रमण फैलिसकेकाले स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ ।उक्त अवधिमा अत्यावश्यक सामग्रीका लागि प्रहरी प्रशासनको समन्वयमा केही समय बजार खोल्न सकिने बताइएको छ । नयाँ भेरिएन्टसहित दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि बैतडीमा हालसम्म १ सय ८८ जनामा संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ ।