बुबालाई जबर्जस्ती आश्रममा

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

भनिन्छ छोराछोरी भविष्यका सहारा हुन् । धार्मिक तथा सामाजिकरुपमा बुबाआमालाई भगवानसरह मान्ने गरिन्छ । छोराछोरीलाई हुर्काउन र उनीहरुका हरेक चाहना पूरा गर्न बुबाआमाले रगत÷पसिना चुहाएका हुन्छन् । आफू आधापेट खाएर छोराछोरीलाई भरपेट खुवाउनकुन बुबाआमा चाहँदैनन् र गर्दैनन् होला ?तर, आधुनिक समयमा बुबाआमा तिनै छोराछोरीका घृणाका पात्र बनिरहेका छन् । आफ्नो निहीत स्वार्थ पूरा भएपछि भाडाका मान्छे लगाएर बृद्ध बुबालाई आश्रमको गेटमा छाडेर भागिएको स्पष्ट उदाहरण हेटौंडामा पाइएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा केन्द्रीय कार्यालय रहेको मानवसेवा आश्रममा रुपन्देहीको सुनवल नगरपालिका–८ का एक वृद्धलाई गाडीमा जबर्जस्ती ल्याएर छाडिएको छ । शुक्रबार दिउँसो करिब साढे ३ बजे वृद्ध जगन्नाथ गिरीलाई मानवसेवा आश्रम मुख्य कार्यालयको गेटनजिक छाडिएको थियो । उहाँलाई आश्रमको संरक्षणमा ल्याइएको आश्रमलाई जानकारी गराइएन । ती बृद्धलाई बाटोमा अलपत्र छाडेर गएको मानसेवा आश्रमका अभियन्ताको दाबी छ ।

२०७६ भदौ २५ गते चितवनको सडकपेटीमा कष्टकर जीवनयापन गरिरहेका अबस्थाबाट आश्रमकी अभियन्ता निता केसीले उद्धार गरेर मानवसेवा आश्रम शाखा कार्यालय चितवनमा औषधि उपचारपछि गिरीलाई आश्रयका लागि मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडामा ल्याइएको थियो । नियमित औषधि उपचार र काउन्सिलिङपश्चात् परिवारबारे बताएपछि २०७७ चैत ८ गते उहाँका छोरा मानवसेवा आश्रमै बुबालाई लिन आए । त्यसपछि आश्रमले उहाँलाई सुखद् पारिवारिक पुनर्मिलन गराएको थियो ।

गिरीको नाममा रहेको जग्गापास नहु“दा समस्यामा परेका उहाँका छोराहरु त्यही काम सल्टाउनमात्र बुबा लिन आएको आश्रमकी अभियन्ता उमा भण्डारीले बताउनुभयो । ‘छोरा नै बुबालाई लिन आएपछि हामी खुशी हु“दै पारिवारिक पुनर्मिलन गरायौं । र, बुबाको नाममा रहेको वृद्धभत्ताको कार्डसमेत छोराको जिम्मा लगाएका थियौं,’ उहाँले भन्नुभयोे । बृद्ध गिरीले आफ्नो नाममा आएको भत्ता ७० हजार छोराले निकालेर १२ हजारमात्र आश्रममा छाडेका आरोप लगाउनुभएको छ । ८८ वर्षे बृद्ध गिरीले एक स्थानीयलाई करिब २७ वर्षअघि दिइएको जग्गापास गर्नेमात्र छोरा दिन आएको र हाल पास गरिसकेपछि जबर्जस्तीे आश्रममा छाडिएको बताउनुभयो ।

आश्रमकी अभियन्ता भण्डारीले मानवताको हनन् भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएर कानुनबमोजिम कारबाही गर्न अपिल गर्नुभएको छ । प्रहरीले फोन गरेर बुबालाई लिन हेटौंडा आउन र यदि नआए प्रहरी पठाएर पक्राउ गर्ने भनेपछि मात्र उहाँका छोराले बुबालाई लिन आइतबार हेटौंडा आउने बताएको भण्डारीले जानकारी दिनुभयो ।