पत्रकारको उपचारका लागि एक करोडको अक्षयकोष घोषणा

0
Shares

न्युज अफ नेपाल,धनगढी ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले सुदूरपश्चिममा रहेका पत्रकारहरुको स्वास्थ्य उपचारका लागि एक करोडको कोष स्थापना गरिने घोषणा गरेका छन् । धनगढीमा आयोजित पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष रावलले विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित हुँदै आएका पत्रकारहरुको उपचारका लागि सहयोग गर्न अक्षय कोषको घोषणा गरेका हुन् ।

‘सुदूरपश्चिममा रहेका पत्रकारहरु बिरामी पर्दा समेत उपचार गर्न आर्थिक समस्या झेलिरहेका छन्’ अध्यक्ष रावलले भने ‘यो समस्या आउन नदिन महासंघले एक करोडको अक्षयकोष स्थापनाको घोषणा गर्दछु । पहिलो अभियान नै यही हुनेछ ।’ अध्यक्ष रावलले भने उक्त कोषमा आफ्नो व्यक्तिगततर्फबाट एक लाख रकम उपलब्ध गराउने समेत घोषणा गरेका छन् ।

कार्यक्रममा प्रेस युनियनका कैलालीका अध्यक्ष श्रवण देउवाको नेतृत्वमा कैलालीका पत्रकार पिआर चटौतलाई सहयोगको अभियान समेत शुरु गरिएको छ । पत्रकार चटौत २०६४ सालमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए । अहिले उनको कुइनोको नशा च्यापिएर उपचार गराई रहेका चटौत आर्थिक समस्या व्यहोरिरहेका छन् । अभियानको पहिलो दिन सञ्चारकर्मीहरुबाट १६ हजार नौ शय १५ रुपैयाँ संकलन गरिएको थियो । संकलित रकमलाई नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रोशन पुरीलाई हस्तान्तरण गरिएको छ ।