निकासको माध्यम नै अदालत र नेता



दामोदर पौडेल 

प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेको भनिएकोमध्यावधि चुनावको घोषणा अदालतले खारेज गरेपछि उनमा नैतिकता भए मात्र राजीनामा दिन्छन् भन्नेहरु पनि देखिए । लोकतन्त्रमा आफ्ना धारणा राख्ने तथा विचार र व्यवहारलाई वाद, प्रतिवाद र संवादको माध्यमबाट सत्यमा पुग्न सबैभन्दा राम्रो र सरल हुन्छ । त्यस अर्थमा उनलाई प्रधानमन्त्रीबाट हटाउनको लागि अविश्वासको प्रस्ताव आउँदै गरेको तथा विरोधी समूहले उनलाई पार्टीको अध्यक्षबाट समेत हटाउन लागेको देखिएकाले उनले संसद् विघटन गरेका हुन् वा हैन भन्ने तर्कहरु आउँदै गरेकोमा सत्यमा पुग्न पनि अरु पद्धतिभन्दा लोकतान्त्रिक पद्धतिबाट सजिलो हुन्छ ।

बेथितिको विरुद्धमा जाँदै नजाने तर जब पद धरापमा पर्छ तबपदको लागि नै जंगल जाने धम्की दिने, सडक तताउँछौं भन्ने, विवादको चुरो जनताको हित हैन बरु आफ्ना पदलाई मान्ने आदि प्रवृत्ति सबै दलहरुमा भयो । यो अहिलेका सत्ताधारीमा झनै बढी देखिएको छ । नेताहरुको स्वाभिमान भनेको पदको प्राप्ति भएदेखि नै देखिएकोमा अहिले त्यो छताछुल्ल भएको हो ।यसै बीच अनुमानका पसलहरु गरम भइरहँदा अहिलेसम्मका अधिकांशदलिलहरु आग्रहमा आधारित छन् वा पूर्वनिर्धारित धारणामा आधारित रहेका दखिन्छन् । देशको स्थिरता र विवादका अन्तर्यहरुमा पुगेर निराकरण हुन सकेको छैन ।कसैले पनि राजनीतिलाई देशको लागि सही दिशा दिन पर्दछ भन्ने आशा दिन सकेका होइनन् । जस्तै– एउटा उदाहरण यो पनि हुन सक्ला कि नेताले नेपालको नक्सा बदल्ने प्रयास गरे पनि नेपालको भूभागलाई सुरक्षित गर्ने नेपालीले हो, नक्साले हैन ।देशको सुरक्षा गर्नको लागि नेपालीबीच भावनात्मक एकता र आत्मरिर्भरता आवश्यक हुनेमा त्यस्तो देखिने कार्य भएको छैन, बरु जनतामा दिनहुँ पीडाथपिएको छ ।अहिले केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिएको र आफूहरु वा उनलाई हटाएर अरु नै प्रधानमन्त्री बनाउँदा मात्र देशमा केही हुन्छ भनेर भन्न नसके पनि प्रधानमन्त्रीबाट ओलीलाई हटाएपछि उनको तेजोवध भएको अनुभूति हुने अनि उनका विरोधीहरुले त्यसैबाट भने पनि आनन्द प्राप्त गर्ने जस्तो पनि देखिएको छ । नेपाली जनताले झलनाथ खनाल, माधव नेपाल, शेरबहादुर देउवासमेतलाई प्रधानमन्त्री बनेको देखेकै हुन् । उनीहरुले सक्ने दैनिक प्रशासनका काम राम्रोसँग गरे पनि यो उपलब्धि भयो भन्ने देखिन सकेन ।

ऐनहरु बने होलान्, लाखौं गर्भवती महिला पीडाबाट गुज्रेकोमा एकजनालाई हेलिकोप्टरबाट उद्धार गरेर प्रचार गरियो होला ।अमुक बालबालिकालाई प्रधानमन्त्रीले पढाउने घोषणा गरेर लाखौं बालबालिकाको अवस्था सुध्रेन । बरु अरुको पीडा थपियो । त्यसैले ओली वा अरु व्यक्ति प्रधानमन्त्री वा राष्ट्रपति बनेर वा व्यवस्था बदलेर वा कुनै अमुक प्रधानमन्त्री वा नेतालाई बदलेर जनताले केही पाउने होइनन् । किनभने यसभन्दा पहिला र अहिले पनि पाएको देखिएन । अब नेताहरुले चाहे हामी यहाँ छौं भनून् वा सडक जाम गरेर उनीहरुका कार्यकर्ताहरुले आन्दोलन नै गरुन्, जनताले बुझ्ने भनेको यो आन्दोलन जनताको लागि होइन, मात्र नेताहरुको आफूहरु बलियो बन्ने चलखेल र चाहनाको प्रकटीकरण हो । अहिले पनि कुनै आन्दोलन भएर जनताले दुःख पाउनु भनेको आंफूले केही राहत पाउनको लागि होइन, बरु नेताहरुले नै पाउनको लागि हो भन्ने बुझेका नै छन् । तैपनि राजनीतिक दलका कार्यकर्ताहरुले भ्रम दिने तथा जनतामा रहेका व्यक्तिगत निकटता र केही डर, केही आशाको कारणले मात्र सरकारको पक्षमा वा विपक्षमा जनता उभिएको जस्तो देखिएको छ ।

समर्थकहरु र कार्यकर्ताहरु बेरोजगारीको कारणले यो गरे हुन्छ कि, त्यो गरे हुन्छ कि भनेर वा राम्रो व्यवसाय र काम नजानेर नै सजिलो माध्यमबाट जीविकोपार्जनको माध्यम देखेर बाध्यतावशदलको पछि लागेका पनि छन् । एकपटक लागेपछि आशा र संगतले गर्दा मानिसले त्यो बाटो सामान्य अवस्थामा छोड्दैन ।अबको निकास त कुनै व्यवस्था र व्यक्ति बदलेर आउँदै आउँदैन । किनभने बेलायतमा संसदीय व्यवस्था राम्रोसँग चलेको छ तर भारत तथा बंगलादेशमा राम्रो नदेखिएको हुन सक्छ । राजसंस्था जापानमा राम्रोसँग चलेको छ, नेपालमा भने चलेन । राजसंस्था आफंै सामन्तवादको प्रतीक हो भने जापान र बेलायतमा कम्युनिस्ट विचारअनुसार र पुँजीसमेतका वैचारिक पुस्तकहरुको आधारमा अहिले हटिसकेको हुनुपर्ने हो, किन रहेको होला ? यस प्रश्नको सरल उत्तर छ तर यसलाई हामीले धेरै जटिल बनाएका छौं । प्रायः देशहरुमा देशभित्र नै रहेको मानव चरित्र र व्यवहारले निकासलाई रोकेको हुन्छ तर अरु कतै गल्ती खोजिन्छ र त्यो गल्ती कहिल्यै पनि पत्ता लगाउन सकिँदैन । हलो ढुंगा भएको ठाउँमा लगेर आफूले नै अड्काउने र गोरुले हलो तानेन भनेर चुट्ने कार्यजस्तै नेपालमा अहिले भइरहेको छ ।गल्ती आफू गर्ने तर दोषको कारण अरु ठाउँमा खोज्ने प्रवृत्ति हाबी भइरहेको छ ।

चन्द्रसमशेरले चन्द्र नहर, त्रिचन्द्र कलेज आदि देशकै ढुकुटी खर्च गरेर बनाए । हामी अहिले विदेशी सहयोग नभई एउटा चर्पी पनि देशको ढुकुटीबाट बनाउन सक्दैनौं । केवल विदेश वा अन्तर्राष्ट्रिय संस्थाहरुले सहयोग वा ऋण  नगदमा दिएकोले हामीलाई थाहा हुँदैन । कतिपय परियोजनाहरु विदेश वा संस्थाहरु आफैले बनाइदिएकोले थाहा हुने मात्र हो । राणा शासन नराम्रो थियो र फ्याँकियो तर त्यसको विकल्प विदेशीमा निर्भर हुनु होइन । र,थिएन ।लोकतन्त्रलाई महेन्द्रले कु गरेर हटाए, त्यो पनि विकास र जनहितको लागि हो वा उनी शक्तिशाली बन्नको लागि हो भन्ने पनि ऐनाजस्तै छ । पञ्चायती व्यवस्था फालेर बहुदलीय व्यवस्थाको लागि सयौं नेपालीले बलिदान गरेका वा ज्यानको बाजी लगाएका पनि आ–आफ्ना दलका नेताहरुले भ्रष्टाचार गरुन्, विदेशीको इशारामा चलून् र विदेशीको पैसाले देशको धर्म–संस्कृति नै बेचिदिऊन् भन्नको लागि पनि थिएन । आन्दोलनको एजेन्डामा त अरु नै जनताको हितका कुरा थिए तर भनिएका बाचाहरु पूरा भएनन् । नेताहरुका लुकाइएका चाहना पूरा भए ।गणतन्त्र ल्याउने क्रममा माओवादीहरुले भनेजस्तै हजारौं मानिसको बलिदान भएको हो भने पनि या अरु दलहरुको सडक आन्दोलनको कारण भएको वा दुवैको फ्युजनबाट नै भएको भए पनि त्यो आन्दोलन अमुक नेपालको सन्तानलाई राष्ट्रपति र प्रधानन्त्री तथा अन्य पद दिनको लागि मात्र भएजस्तो देखियो । जनताका छोराछोरी राष्ट्रपति बनेर हामी नेपाली जनताको रोजगारी नेपालमा नै भई विदेश जान परेको छैन भन्ने पनि भएन, विदेशमा जानेको संख्या बढिरहेको छ । देशमा विदेशी चलखेल बढिरहेको छ । सरकारको मन्त्री पनि विदेशीको इशारामा बन्छ र इशारामा नै विदेशीले आवश्यक ठानेको काम गराउँछ भने यस्ता कार्यले देशको र नेपालका गरिब जनताको शिर उचो हुँदैन ।

यस प्रकार देशमा राजनीतिक प्रणाली बदलेर समस्या समाधान हुन्छ भन्नेहरु बेइमान अवश्य हुन्, ब्रेन वास भएका मूर्खहरु नहुन पनि सक्छन् । नत्र लोकतन्त्र आएपछि समस्या समाधान गरिन्छ भनेकोमा लोकतन्त्र ल्याएपछि उनीहरुले किन केही गरेनन् ? र, गणतन्त्र आएपछि गर्छु र गर्दछौं भन्नेहरुले त्यसपछि किन गरेनन् ? जनतालाई आशामा किन दौडाएका र मर्न किन तयार गरेका ?त्यसैले व्यवस्था त सामान्य माध्यममात्र हो, गर्ने त नेताहरुले हो । खबरदारी गर्ने जनताले र नागरिक समाजले हो । त्यो नागरिक समाजको नेतृत्व दलीय भागवण्डामा हुने र नागरिक नै बाँकी नरहेर सबैजसो दलका हनुमान भएपछि कुनै व्यवस्थाले पनि केही गर्न सक्दैन । दलहरु,व्यवस्थाहरु,बेइमान पिछलग्गुहरु तथा लोभी जनता बेइमान नेताहरुका फेस सेभिङ बनेका छन् । भनिन्छ कि जनता जस्ता छन् लोकतन्त्रमा नेताहरु पनि उस्तै हुन्छन् । त्यो ऐना हेर्न सक्नुपर्दछ । ऐनामा लागेको धूलो नेता र जनता नै हुन् । लोकतन्त्रको ऐना सधैँ प्रस्ट र तथ्य देखाउने वा अनुहार जस्तो छ ठिक्क उस्तै देखिने हुन्छ ।अबलोभबाट मुक्ति हुनुपरेको छ, भ्रमबाट बाहिर आउनुपरेको छ । अल्छी हैन, जाँगर चाहिएको छ ।सीपको विकास चाहिएको छ । हामी जनता र नेतामा त्यति मात्र भएमा देश बन्छ । व्यवस्थाको नाम जे राखे पनि भयो । तर बहुलवादमा आधारित लोकतन्त्रको मर्म भने अन्यथा नभए जनताले चाहे जे पनि गर्न सक्छन् ।त्यसैले अबको निकासको माध्यम नै अदालत र नेता बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्