दिलकुमार लिम्बु, ताप्लेजुङ ।
एक गाँस खान, एकसरो लगाउन, घर–परिवार र लालाबालालाई पाल्नैका लागि दिनहुँ सयौँ युवा विदेसिँदै छन् । विदेशी भूमिमा पुग्नु कसैको रहर होइन । देशमै रोजगारी गरौंला भनेर लाखौं युवा ऋण काढेर अध्ययन गरिरहेका छन् । भएभरको सम्पत्ति अध्ययनमा सकिँदासमेत देशमा रोजगारीको अवसर नहुँदा युवा हैरान भई विदेसिने गरेका छन् ।
देशमा रोजगारी पाइएन भनेर धेरै युवा विदेसिरहेका अवस्थामा हाम्रो समाजमा केही यस्ता व्यक्ति पनि छन् जो देशमै मिहिनेत गरेर लाखौं आम्दानी गरिरहेका छन् । विदेशी भूमिमा बगाउनुपर्ने रगत, पसिना स्वदेशमै खर्चेर केही युवा आफ्नै गाउँठाउँमा सुन फलाइरहेका छन् । तिनैमध्येका एक हुन्– फुङलिङ नगरपालिका–११ फावाखोला गाउँको शीर नामसालिङखर्कका टेकबहादुर विष्ट । उनले फावाखोला गाउँको सिरानको बाँझो जमिनलाई बाख्रा खर्क बनाएपछि अहिले खर्क नै ढाक्ने गरी सेताम्य भएर बोयर बाख्रा चरिरहेको देख्दा जो–कोहीको मन लोभिन्छ ।विष्टको विदेश जाने सोच पनि नभएको होइन । २०५६ सालतिर अस्ट्रेलिया जाने सपना बोकेर काठमाडौंको म्यानपावर पनि पुगेका थिए उनी । तर, अस्टे«लिया पुगेर डलर कमाएर शहरमा आप्mनै पक्की घर, आफ्नै गाडीमा स–परिवार विभिन्न ठाउँ घुम्ने सपना काठमाडौंमा धेरै दिन टिकेन । एजेन्टले ८ लाख रुपियाँ खाएर फरार भएपछि विष्टको उज्यालो सपना औंशीको रातमा परिणत भएको थियो ।
विष्टले २०७२ सालमा नामसालिङ बोयर बाख्रा फर्म घरेलु तथा साना उद्योग ताप्लेजुङमा दर्ता गरी ताप्लेजुङमा पहिलो बोयर बाख्रा पालन शुरु गरेका हुन् । बिउका लागि बोयर बाख्राको बोका अष्ट्रेलिया बाट २ लाख ५० हजार रुपियाँमा खरिद गरेर बोयर बाख्रापालन सुरु गरेको विष्ट बताउँछन् ।अहिले ७० वटा बोयर र २० वटा साना जातका माउ छन् । अहिलेको बोयरको मासुको बजार मूल्य प्रतिकिलो १२ सय छ । विष्टले मासुभन्दा पाठापाठी बिक्री गर्दै आएका छन् । उनी वार्षिक खर्च कटाएर ७ लाख रुपियाँ पाठापाठी बिक्रीबाट जम्मा गर्दछन् ।विष्टले मात्र फर्मबाट मनग्य आम्दानी गरिरहेका छैनन् उनले ताप्लेजुङको ९ वटा स्थानीय तहका बाख्रा कृषहरूलाई बिउ बोका उपलब्ध गराएर उनीहरूलाई पनि राम्रो आम्दानी गराइरहेका छन् । घरेलु तथा साना उद्योग कार्यालयले पनि आवश्यक सामग्री उपलब्ध गराएको विष्टले बताए ।यसैले अब छिट्टै उपयुक्त जग्गा भाडामा लिएर आधुनिक खोर बनाएर विस्तारितरूपमा बाख्रा पालन गर्ने योजनामा छन् विष्ट । विष्टले फर्म विस्तार गर्नका लागि नेपाल बैंकले ४ प्रतिशतमा ऋण दिने भन्दै एक वर्ष झुलाएको र अन्त्यमा गाउँको जग्गा धितो नलिने भन्दै ऋण नदिएको दुखेसो सुनाए । विष्टको माग छ– ‘व्यावसायीहरूको आप्mनो व्यवसाय तथा फर्मलाई धितो राखेर सहुलियत ब्याजदरमा ऋणको व्यवस्था हुनुपर्छ ।’
नेपाल कृषिप्रधान देश हो त्यसैले अहिले कृषिमा आत्मनिर्भर हुनको लागि तीन तहकै सरकारले प्रमुख रुपमा कृषि उत्पादनलाई प्राथमिता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विभिन्न अनुदानको प्याकेज घोषणा गरेको छ । तर, यस्तो अनुदान वास्तविक कृषकमा नपुग्ने र नेताहरूका आसेपासेमा मात्र पुग्ने गरेकाले दु:ख गर्ने कृषकहरूको मनोबल गिर्ने काम मात्र भएकोले किसानहरूलाई पहिचान गरेर सहुलियत ब्याजदरमा कर्जाको व्यवस्था गर्न विष्ट सरोकारवालालाई आग्रह गर्दछन् । अस्टे«लिया जान नसके पनि अस्ट्रेलियाको बोयर बाख्रासँगै दिनहरू बिताउँदै अस्ट्रेलियामा कमाउने जति आप्mनै गाउँ घरमा कमाउन पाउँदा निकै खुसी रहेको विष्ट बताउँछन् ।युवाले खाडी मुलुक तथा भारतीय शहर जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा धेरै आम्दानी गर्न सकिने उनी बताउँछन् । देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवा विदेश पलायन हुनु नपर्ने उहाँ बताउनुहुन्छ ।
प्रतिक्रिया