सुनको कोटा बढ्यो


नेपाल समाचारपत्र, काठमाडौं

व्यवसायीको चर्को दबाबपछि नेपाल राष्ट्र बैंकले सुनको कोटा बढाएको छ । हाल आयात हुँदै आएको दैनिक १० किलो सुनको परिमाणलाई बढाएर राष्ट्र बैंकले २० किलो पु¥याएको हो ।हालको कोटाले बजारमा सुनको माग धान्न नसकेको भन्दै व्यवसायीहरूले कोटा बढाउन आग्रह दबाब दिँदै आएका थिए । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले सुनको कोटा बढाउन परिपत्र जारी गरेको छ । लकडाउनपछि गत वर्षको चैत १९ गतेदेखि राष्ट्र बैंकले विदेशी विनिमयको सञ्चिति घट्न सक्ने भन्दै सुनको कोटा घटाएको थियो ।

तर, विदेशी मुद्रँ सञ्चिति घट्न रोकिएको थिएन । सुन आयातले भन्दा विदेशी पर्यटकको आवागमन रोकिएपछि विदेशी विनिमयको सञ्चितिमा दबाब परेको हो । नेपाली बजारमा अहिले दैनिक ३० किलो सुनको माग रहेको छ । विवाहको सिजनमा सुनको माग अझै बढी हुने गर्दछ । लामो समयदेखि बजारमा सुनको आपूर्ति न्यून हुँदा बजारमा सुनको कालोबजार हुन थालेको उपभोक्ताको गुनासो छ । सुनको कोटा बढेपछि बजारमा अभाव केही हदसम्म भए पनि कम हुने विश्वास व्यवसायीको छ । विवहको लगन शुरू हुने बेला भएपछि बजारमा सुनका गहनाको अर्डर बढ्न थालेको छ ।

तर, पर्याप्त सुन नहुँदा व्यवसायीले ठूलो अर्डर धान्न नसक्ने स्थिति आउन थालेपछि कोटा बढाउन चर्को दबाब परेको थियो । विवाहको सिजन नजिकिनुका साथै अर्थतन्त्र चलायमान हुन थालेपछि व्यवसायमा चाप परेको सुन व्यवसायीको भनाइ छ । पछिल्लो समयमा पुरानो सुन बिक्री गर्ने क्रम बढेकाले पनि माग र आपूर्तिबीचको असन्तुलनमा केही हदसम्म भए पनि समाधान हुँदै आएको थियो । व्यवसायीका अनुसार हाल नेपाली बजारमा दैनिक ६ किलोसम्म पुरानो सुन आउने गरेको छ ।